‘राष्ट्रप्रतिको मेरो चिन्ता हो’ भन्दै राष्ट्रपतिले दलहरू बोलाएर यस्तो भने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दलहरूलाई बोलाएर राष्ट्रप्रतिको चिन्ता ब्यक्त गरेका छन् । आज बिहान राष्ट्रपति निवास शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले राष्ट्रप्रतिको मेरो चिन्ता ब्यक्त गरेका हुन् ।

नेताहरुसंगको छलफलमा उनले आफुले कुनै राजनीतिक सक्रियता देखाउन नखोजेको तर राष्ट्र र राष्ट्रियताप्रतिको चासो र चिन्ताका कारण दलहरुलाई छलफलका लागि बोलाएको प्रष्ट पारेका छन् ।

एमालेले लगातार संसद बैठक अबरुद्ध गर्दै आएकोमा चिन्ता ब्यक्त गर्दै बैठकमा भने, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ, त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो ।’

राष्ट्रपति पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको स्मरण गराउँदै संविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा आफु सधैँ चिन्तित रहेको समेत बताए ।

उनले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको भन्दै यसप्रति गम्भीर चासो देखाएका छन् ।

संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानुनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको भन्दै यसबारे पनि राष्ट्रपतिले दलहरुसँग चासो राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

‘सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन । यतिबेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पुरा हुन नसक्ने ष्ट्रपतिको भनाइ थियो ।

कहिलेकाहिँ दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखा पर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकास निकाल्नु पर्नेमा राष्ट्रपतिले जोड दिएका छन् ।

सुशासनका पक्षमा दह्रोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता भइरहेकाले त्यसतर्फ दलहरु गम्भिर हुन आग्रह पनि गरे ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागिता थिए । बैठकलाई भने एमालेले बहिस्कार गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार