काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा आफुलाई निषेध गरेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले ओलीले आफ्नो पार्टीलाई नै निषेध गरेको आरोप लगाएका हुन् ।
उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको बताए । संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।
उनले भने, ‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदा हुँदा हिजो अस्ती त संसद्मा अरू सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौँ कि हामीले पनि केही गर्नुपर्छ । धेरै भलादमी पारेर हुँदैन । त्यसो हुनाले यो घिउ निकाल्नका लागि औँलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङ्गो नगरेर हुँदो रहेनछ । संसार नै त्यस्तै छ । यो सबै अवस्था हामीले देखिरहेका छौँ ।’
अध्यक्ष नेपालले ओलीका कारण आफुहरुले विद्रोह गरेर नयाँ पार्टी बनाएको बताए । उनले अहिले पनि एमाले भित्र धेरै कार्यकर्ता केपीको कुरालाई चित्त नबुझे पनि बाध्य भएर बस्नु परेको बताएका छन् ।
‘