काठमाडौं । दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक नेपाली दम्पती पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी रहेको प्रहरीले जनाएको छ।
उनिहरुले दिल्लीको किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर नेपाली युवतीलाई यौनधन्दामा लगाउने गरेको प्रहरीको दाबी छ ।
प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले २०७९ चैत ७ गते उक्त स्थानबाट ९ जना युवतीलाई उद्दार गरेर नेपाल ल्याएको थियो ।
प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत लैजाने र त्यहाँ लगेर वेश्यावृत्तिमा लगाउने गरेको ब्यूरोका एसपी कृष्णप्रसाद पंगेनीले बताए ।
उनकाअनुसार भण्डारी दम्पतीले ह्वाट्स एपमा ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरुले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने गर्थे ।
वेश्यावृत्तिबाट भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको एसपी पंगेनी बताए। यो दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्धा दर्ता भएका थिए । त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा छन् ।
अनुसन्धान जारी रहेका बेला उनीहरुले पुनः नेपालबाट युवतीहरुलाई झिकाएर यौन व्यवसाय सञ्चालन गरिरहेको सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र किन इण्डिया नामक संस्थासँग समन्वय गरेर १० पुसमा दिल्लीबाट थप ५ जना पीडितको उद्दार गरिएको एसपी पंगेनी बताए ।