
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका छन् ।
माघी पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका हुन् । शुभकामना सन्देशमा उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले माघीको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना समेत गरेका छन् । उनले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका रहने पनि उल्लेख गरेका छन् ।
“यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँदछन् । पवित्र नदी एवं त्रिवेणीहरूमा स्नानपश्चात् पूजाअर्चना गरी घीउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता खाद्य परिकार सेवन गर्ने परम्परा छ”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उनले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षण उन्मुख हुनुपर्ने अन्तर्निहित सन्देशलाई सबैले आत्मसात् गर्नुपर्ने उनको भनाई छ ।










