
काठमाडौं । असल चालचलन भएको भन्दै संविधान दिवसमा जेलमुक्त भएका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् ।
फक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालले बताए । बस्नेत ललितपुरको झम्सिखेलस्थित एक घरमा भएको चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
एसएसएपी खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद सजाय भुक्तान गरिरहेका थिए । तर, २०८० साल असोज ३ गते संविधान दिवसका बेला उनलाई असल चालचलन भएको भन्दै जेलमुक्त गरिएको थियो । प्रहरीकाअनुसार उनलाई यसअघि चोरी आरोपमा १२ वर्षसम्मको जेल सजायको आदेश भएको थियो ।
प्रहरीको रेकर्डमा बस्नेतविरुद्ध हालसम्म १२ वटा मुद्दा दर्ता भएको देखिन्छ । तीमध्ये ९ वटा चोरीसम्बन्धी कसूरका छन् भने ३ वटा अभद्र व्यवहार सम्बन्धी कसूरमा रहेको एसएसएपी खनालले बताए ।
बस्ेनतविरुद्ध ललितपुरमा ४, काठमाडौंमा २, काभ्रेमा २, भक्तपुरमा एक र दोलखामा ३ वटा मुद्दा दर्ता भएको पाइएको खनालले भने ।
एसएसपी खनालका अनुसार, उनले चोरी गर्दा प्रायः विदेशी बस्ने घरलाई टार्गेट गर्ने र चोरी गर्न जाँदा एउटा लुगा र फर्किदा अर्को लुगा लगाउने गरेका थिए । बस्नेत भक्तपुरको निकोसेरामा डेरा गरि बस्ने गरेको पाइएको छ । उनको पेसा नै चोरी रहेको र अन्य अपराधिक कार्य पनि संलग्नता हुनसक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।









