काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भएपनि ५ वटा खेलका लागि भने प्रतिस्पर्धा आजैदेखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम छ । आजदेखि शुरु हुने ५ वटा खेलमध्ये ४ वटा खेलको प्रतिस्पर्धा प्रदेश ५ का विभिन्न ठाँउमा हुँदैछन् । लनटेनिस खेल बुटवलको देवीनगरमा , टेबलटेनिसदाङको घोराही कभर्डहलमा, कुस्ती कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा, पुरुष हक्की नेपालगञ्जको मंगलप्रसाद उमाविमा र ललितपुरको सातदोबाटोमा स्क्वास खेल हुनेछन् ।
महिला हक्की भने नेपालगञ्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि शुरु हुनेछ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन। प्रतियोगितामा विभिन्न ३५ खेल समावेश छन् । वृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ ।