काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँचजना पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले चोरी आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो ।
जेल चालन हुनेमा काठमाडौं ६ बस्ने मन्दिरका ब्राह्मण ३६ बर्षिय नवराज घिमिरे, काभ्रे घर भएका ५१ बर्षिय पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, कोषमा बाजा बजाउने कर्मचारीहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका १२ का २९ बर्षिय सञ्जय कपाली, कागेश्वरी मनोहरा ९ का ३५ बर्षिय कुमार दमाई र कागेश्वरी मनोहरा ८ बस्ने ३४ बर्षिय अनिल परियार जेल चलान भएका छन् । उनीहरुलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
त्यसैगरी अदालतको आदेशमा काठमाडौं ८ का ५५ बर्षिय सत्यनारायण जोशी ३ लाख धरौटीमा हिरा भएका छन्।
पशुपतिको भेटी चोरी आरोपमा प्रहरीले ६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै मुद्दा चलाइएको थियो ।
उनिहरुलाई जेठ ७ गते पशुपतिको भेटी चोरी गरिरहेको सीसीटिभी क्यामेरामा देखिएपछि पक्राउ गरिएको थियो ।