बुटवल । रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीबाट भोली मात्रै पोखरा फर्काइने भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगीबारे बयान दिन पोखरा हिरासतबाट लगिएका लामिछानेलाई भोली मात्रै पोखरा फर्काइने भएको हो ।
सरकारी वकिलको कार्यालय रुपन्देहीमा आज साँझसम्म बयान चलेकाले भोली बिहानको पहिलो उठानमार्फत लामिछानेलाई पोखरा फर्काइने रास्वपा नेता दीपक बोहराले जानकारी दिए ।
सभापति लामिछानेसंग सरकारी वकिलको कार्यालयमा बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधिएको छ । सोधिएका प्रश्नमा उनले इन्कारी बयान दिएका छन् ।
सहकारीको रकम ठगीबारे उनिसंग बयान लिन मंगलबार दिउँसो पोखराबाट बुद्ध एयरमार्फत भैरहवा बुटवल लगिएको थियो ।
लामिछानेसंग सरकारी न्यायधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको बयान लिएका थिए । प्रहरीले लिखित बयानका आधारमा रविविरुद्ध पूरक प्रतिवेदन बनाउने तयारी गरेको छ ।
लामिछानेलाई रुपन्देही लगेसंगै उनका कार्यकर्ता र सर्मथकहरुले दैनिक जसो बुटवलमा प्रर्दशन गरिरहेका छन् । उनिहरुले रवि निर्दोष रहेको र उनिमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाइरहेका छन् ।