पोखरा । सहकारी ठगीमा चितवनमा बयान सकिएपछि रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । उनलाई हिजो मध्यराती ११ बजे चितवनबाट गाडीमा राखेर बिहान ३ बजे पोखरा पुर्याईएको हो । चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको उजुरी परेपछि लामिछानेलाई बयानका लागि काठमाडौंबाट मंगलबार बिहान चितवन पुर्याईएको थियो । चितवनमा दुई दिन बयान लिएपछि उनलाई गएराती पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई आज बिहान ११ बजे जहाजमार्फत पोखरा लैजाने समय तय भइसक्दा समेत प्रहरीले झुक्याएर रातारात पोखरा लगिएको भन्दै रास्वपा नेता दीपक बोहराले आपत्ति जनाएका छन् ।
चितवनमा लामिछानेका भोटर र सर्मथकहरुलाई झुक्याएर रातारात पोखरा लैजानु सरकारको थप प्रतिशोध र ज्यादती भएको बोहराको भनाई छ । नेता बोहराका अनुसार लामिछानेलाई चितवनबाट जहाजमार्फत पोखरा लैजान बिहान ११ बजेको समय तय भएको थियो ।
हिजो चितवनमा रविको बयान चलिरहँदा रास्वपा नेता, कार्यकर्ता, सर्मथक र प्रहरीहरुबीच झडप हुँदा दुबैतर्फ केहि ब्यक्तिहरु घाइते समेत भएका थिए । उक्त घटनालाई मध्यनजर गर्दै लामिछानेलाई गाडीमार्फत राती नै पोखरा ल्याइएको प्रहरीको भनाई छ ।
लामिछानेलाई अनुसंन्धानका लागि पछिल्लो पटक गत मंसिर ९ गते पाँचौं पटक १५ दिनको म्याद थपिएपछि उनलाई पोखराबाट काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे बयान लिन बिहीबार काठमाडौं ल्याइएको थियो ।
सहकारी ठगीमा गत कात्तिक २ गते आफ्नै पार्टी कार्यालयबाट पक्राउ गरिएका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसंगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान गरिरहेको छ ।
लामिछानेविरुद्ध सहकारी ठगीबारे पोखरा, बुटवल, काठमाडौं, चितवन र पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।
एमाले सांसद सुर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न लामिछाने लगायतको संलग्नता रहेकाले प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो । सोहि सिफरीसका आधारमा लामिछाने पक्राउ परेका थिए । समितिले सहकारीको पैसा ल्याउनेमा लामिछानेको प्रत्यक्ष संलग्नता नदेखि पनि त्यसको हिनामिनामा संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सभापति लामछिानेले भने आफुमाथि लागेको आरोपहरु राजनीति पुर्वाग्रह र प्रतिशोधपुर्ण रहेकाले आफु निर्दोष रहेको दावी गर्दै आएका छन् । सहकारीको रकम गोर्खा मिडियामा ल्याउने काम सबै जिबि राईको भएकाले प्रहरीले उनिसंगै अनुसंन्धान गर्नुपर्ने बताइरहेका छन् ।