पर्सा । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको पर्सामा बयान जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बिहान १० बजे उपस्थित गराई बयान लिने काम भइरहेको छ ।
पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनमा उजुरी परेपछि लामिछानेमाथि बयान भइरहेको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सानोपाइला सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । जो अहिलेसम्म फरार छन् । सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो काठमाडौं हुँदै हवाई जहाजमार्फत बारा लगिएको थियो । त्यहाँबाट लामिछानेलाई पर्सा प्रहरीले गाडीमा राखेर पर्सा लगेको पर्साका एसपी कुमुध ढुंगेल बताए ।
लामिछानेलाई सहकारी ठगी आरोपमा प्रहरीले गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई छैटौं पटक ४ दिनको म्याद थपिएको छ, जुन भोली सकिदैछ ।
लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा र काठमाडौंको श्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे बयान भइसकेको छ । लामिछानेमाथि सहकारी गठीमा उजुरी परेका सबै जिल्लामा उनको बयान भइरहेको छ ।
यता, रास्वपाले भने लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ । लामिछानेको पर्सामा बयान भइरहेको बेला पनि रास्वपा नेता, कार्यकर्ता र सर्मथकहरुले सडकमा प्रर्दशन गरिरहेका छन् ।