काठमाडौँ । सहकारी ठगीको आरोपमा दुई महिनादेखि कास्की प्रहरीको हिरासातमा रहेका रास्वपा सभापति रवि लामिछानेको हिरासतको फोटो बाहिर ल्याउने ब्यक्तिलाई पक्राउ गर्ने तयारी गरिएको छ । लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने ब्यक्तिमाथि कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएपछि सो ब्यक्तिलाई पक्राउ गर्ने तयारी गरिएको हो ।
लामिछानेको फोटो बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारवाही गर्न गृहमन्त्री लेखकले निर्देशन दिएपछि सो समयमा डिउटीमा खटिएका प्रहरीमाथि पनि अनुसंन्धान गरि कारवाही हुने भएको छ।
हिरासत कोठामा लामिछाने सिरक ओढेर सुतिरहेको फोटो सामाजिक संजालमा भाइरल भएपछि त्यसबारे चासो राख्दै गृहमन्त्री लेखकले घटनाबारे अनुसंन्धान गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएको बताइएको छ । कास्की प्रहरीले पनि यसबारे अनुसंन्धान सुरु गरिसकेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले आज एक विज्ञप्ति जारी गर्दै लामिछानेको फोटो सार्वजनिक गर्ने ब्यक्तिले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरेकाले कारबाही हुने जनाएको छ । लामिछानेको हिरासतको फोटो डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि कास्की प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
आफुलाई अभियन्ता भन्ने भुसालले पनि फेसबुक लाइभमार्फत लामिछानेको उक्त फोटो आफुले नै खिचेर पोस्ट गरेको स्विकार गरेका छन् । आफुले गलत नियतले लामिछानेको फोटो सार्वजनिक नगरेको भन्दै फेसबुक लाइभमार्फत उनले माफी पनि मागेका छन् ।
यसरि प्रहरी हिरासतमा रहेको ब्यक्तिको फोटो सार्वजनिक गर्नु कानुन विपरीत मानिन्छ ।