काठमाडौं। रास्वपा सभापति रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्धा दर्ता हुँदैछ् । सहकारी ठगी प्रकरणमा दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले आज मुद्धा दर्ता गर्न लागको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा अनुसंन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि आज मुद्दा दर्ता अन्तिम चरणमा पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको प्रतिवेदनमा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक पूर्वडिआजी छविलाल जोशी लगायत ५१ जनाविरुद्ध मुद्धा चलाई १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीले राय दिएको छ ।
लामिछानेमाथि अनुसंन्धान गर्न आठौं पटक चार दिनको थपिएको थियो जुन म्याद आज राति १२ बजे सकिदैछ। आज मुद्धा दर्ता भएपनि थुनछेकको बहस लम्बिने भएकाले सम्भवत लामिछानेको फेरि म्याद थपिने कानुनका जानकारहरु बताउँछन् ।
समय अभावका कारण आज मुद्धा दर्ता नभए म्याद थपेर आइतबार दर्ता हुने सम्भावना पनि रहेको जानकारहरु बताउँछन् । कानुनअनुसार लामिछानेविरुद्ध ९० दिनभित्र मुद्धा अदालत लगिसक्नु पर्ने भएकाले आइतबारसम्म समयसीमा रहेकाले आइतबार पनि मुद्धा दर्ता हुन सक्नेछ ।
मुद्धा दर्ता भएपछि लामिछानेलाई थुना बाहिर राखेर मुद्धा लड्ने सुविधा दिने की पुर्पक्षका लागि जेल पठाउने भन्ने बिषयमा दुबैतर्फका वकिलबीच बहस हुनेछ । लामिछानेका वकिलहरुले उनलाई थुनामुक्त गरेर मुद्धा लड्ने सुविधा पाउन न्यायाधिशसंग माग गर्ने छन् भने सरकारी वकिलहरुले लामिछानेलाई पुर्पक्षमा पठाउन माग गर्नेछन् ।
यता लामिछानेका पार्टी कार्यकर्ता, शुभचिन्तकहरुले उनिमाथि सरकारले प्रतिशोध साँधिरहेको आरोप लगाउँदै लामिछानेलाई रिहा गर्नु पर्ने माग गर्दै आएका छन् ।
पछिल्लो समय लामिछानेको हिरासतमा रहेको फोटो बाहिरिएपछि रास्वपा कार्यकर्ताहरु झनै आक्रोषित भएका छन् । फोटो बाहिरिएको बिषयमा छानविन समिति गठन भएर अनुसंन्धान सुरु भएको प्रहरीले जनाएको छ । लामिछानेको हिरासतको फोटो आफुले खिचेर सार्वजनिक गरेकोमा गल्ती भएको भन्दै डा. निकोलस भुषालले माफी मागेका छन् ।
आफुलाई अभियन्ता बताउने रास्वपा कार्यकर्ता समेत रहेका भुषालले लामिछानेलाई हिरासतमा भेट्न जाँदा प्रहरीको कन्ट्रोल रुममा गएर प्रहरीकै अघि मोवाइलले लामिछानेको सिसि टिभीमा देखिएको फोटो खिचेको दावी गरेका छन् ।
यस बिषयले प्रहरी सुरक्षा संयन्त्रमाथि नै गम्भिर प्रश्न उब्जाएको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।