न्युयोर्क । पार्कर खेलाडी दिनेश सुनारले गिनिज बुकमा २०औं वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका छन् । अमेरिकामा पछिल्लो पटक उनले आफ्नो अभुतपुर्व प्रतिभाबाट २०औं वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका हुन् । दिनेशले पार्कर र जिम्नास्टिक खेल अन्तरगत पर्ने “द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड” विधामा १४ पटकसम्म आँखा बन्द गरि आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडी उल्टा जिम्नाष्टिक हानेर नयाँ विश्व रेकर्ड राखेका छन् । यस विधामा कम्तिमा १० पटक सम्मको मापदण्ड रहेको थियो ।
खेलाडी दिनेशले ७ डिसेम्बर २०२४ का दिन सिटि अफ एक्रोनवार्ड टु गभरमेन्टको आयोजनामा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमको अवसरमा विभिन्न देशका ३०० भन्दा बढी दर्शकहरुको उपस्थितीमा आफ्नो प्रतिभा प्रस्तुत गरि उक्त वर्ल्ड रेकर्ड दावी गर्दै गिनिज बुकलाई पठाएका थिए। गिनिज बुक अफ वर्ल्ड रेकर्डको हेडक्वाटरले उक्त रेकर्डलाई २० डिसेम्बर २०२५ मा विश्व रेकर्डको मान्यता दिएको हो। यससंगै खेलाडी सुनारले गिनिज बुकमा २०औं वर्ल्ड रेकर्ड लेखाउन सफल भएका छ्न्।
उक्त कार्यक्रममा मेक्सिको, जर्मनी, ईन्डिया, अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका विभिन्न संस्कृती तथा पहिचान झल्काउने नृत्यहरु प्रदर्शन गरिएको खेलाडी सुनारले जानकारी दिए ।
२०औ पटक गिनिज बुकमा वल्र्ड रेर्कड राखेर देशलाई चिनाउँन पाउँदा आफु निकै हर्षित भएको सुनारले अनमोलपोस्टलाई बताए । उनले आफ्नो १२ बर्षको निरन्तर कडा परिश्रम, मेहनत र धैर्यताको प्रतिफल २०औं पटक वर्ल्ड रेर्कड राख्न सफल भएको बताए ।
दिनेशले नयाँ पुस्ताहरुलाई पार्कर खेलमा अभिप्रेरित गरेर नेपालमा आफु जस्तै अन्य खेलाडीहरु निर्माण गर्ने इच्छा रहेको समेत बताएका छन्।
उनले अमेरिका र नेपालमा पार्कर खेलको ट्रेनिङ्ग दिएर खेलाडी तथा कोचहरु उत्पादन गर्ने योजना रहेको समेत बताए।
दिनेशले आफ्नो खेलका माध्यमबाट नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ निकट र सुमधुर बनेको आफुले महसुश गरेको बताए ।
नेपाल रहँदा दिनेशले विभिन्न ठाउँमा आफ्नो अदभूत कला प्रर्दशन गरेर चर्चा कमाएका थिए । उनले विभिन्न नेता, पूर्वप्रधानमन्त्री, मन्त्रीहरुको अघि समेत आफ्नो पार्कर खेल प्रस्तुत गरेका थिए ।
दिनेशले पाँच बर्ष अघि काठमाडौंमा पूर्वप्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागि कार्यक्रममा पनि आफ्नो अद्भूत कला प्रस्तुत गरेका थिए । जुन हामीले भिडियोमा कैद गरेका थियौं ।
दिनेशले २०औं पटक वल्र्ड रेर्कड राख्ने कार्यक्रमका जजहरु ओहायो राज्यको प्रतिनिधित्व गर्ने ब्यक्तिहरु Ms. Christine Wiedie Higham Council Member District 6, Mr. Jeff Wilhite Council Member District 4 थिए । मार्सल आर्टका प्रशिक्षक द्वय हर्क तिरुवा र कौशिला खनाल पनि जजको भुमिकामा थिए । त्यस्तै टाइम किपरमा मार्सल आर्ट खेलाडी निलम खनाल र सिटि अफ एक्रोन वार्ड टु काउन्सिल म्यान Phil Lombardo थिए ।
यस कार्यक्रमका लागि विभिन्न संघसंस्था, संचारमाध्यम र व्यक्तिहरुले सहयोग गरेका थिए ।
यस रेकर्डको लागि Platinum प्रायोजक टप शप काठमाडौंका संस्थापक, न्यूयोर्कको लोकप्रीय सामाजिक अभियन्ता लकेश श्रेष्ठ थिए ।
दिनेशले आफ्नो साहसिक खेलका माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाउन महत्वपुर्ण भूमिका खेलेको अमेरिकाको न्यूयोर्क बस्दै आएका युवा व्यवसायी, समाजसेवी, साहित्यकार लकेश श्रेष्ठले अनमोलपोस्टलाई बताए । अमेरिका लगायत विश्वभर रहेका नेपालीहरुले दिनेश सुनार जस्ता देशको नाम संसारभर चम्काइरहेका खेलाडीलाई सधैं साथ सहयोग दिनुपर्ने उनको भनाई छ ।