भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, आदरणीय मित्रहरू, नमस्कार। भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवम् नेपाली जनताको स्नेह, प्रेम अनि सद्भाव भारत र यहाँका आत्मीय जनताहरूको लागि लिएर भारतको राजकीय भ्रमणमा आएको छु। यस हार्दिक निमन्त्रणा तथा न्यानो आतिथ्यताका लागि म महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु। पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो। अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्। नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन। एक विश्वसनीय छिमेकीका रूपमा भारतले हरेक प्राकृतिक विपद् र कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएकोमा म भारत सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दछु। भर्खरै हाम्रो प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ। शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउने उद्देश्यसहित हामीले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल गरेका छौं। यस क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारी तथा पूर्वाधारहरूको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन्। मित्रहरू, यी ऐतिहासिक उपलब्धिहरूले नेपाल-भारत सम्बन्धलाई नवीन उचाइमा पुर्याउने कुरामा म पूर्ण विश्वस्त छु। आजको आवश्यकता भनेको यही चिरस्थायी सम्बन्धको सुदृढ जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु हो। स्वच्छ जलका स्रोत हाम्रा हिमालयहरूले यस क्षेत्रका करोडौँ जनतालाई जीवन दिइरहेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने निर्मल नदीहरूले हाम्रो भविष्य र गन्तव्यको स्मरण गराउँदै जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता उजागर गर्दछन्। नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएको छ। आज हामीले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरेका छौं।
मित्रहरू,
यही अवसरमा हाम्रो साझा आर्थिक समुन्नतिमा साझेदारीका निम्ति भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछौं। आगामी दिनमा, भारतीय विद्यार्थीहरू नेपालमा स्थापना हुने ‘आईआईटी’ मा अध्ययन गर्न आउने वातावरण बनाउनुका साथै नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।
हाम्रा दुई मुलुकको समृद्ध भविष्यको लागि मिलेर काम गर्न हामीले ‘जोइन्ट भिजन डकुमेन्ट’ एवम् हाम्रा साझा उपलब्धिहरू ‘जोइन्ट प्रेस रिलिज’ मार्फत यहाँहरू समक्ष प्रस्तुत गर्दैछौं।
यस महत्त्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु। साथै, मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु।
हामी सबैको जय होस्।


![Prime Minister Shah’s Address Following Talks with His Counterpart Modi [Full Text]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/9210371801704152797973572489390283225924615n-23112026105049-1000x0.jpg)








