बैतडी । बैतडीको पाटनमा प्रहरीको कुटाईबाट एक वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । मृत्यु हुनेमा पाटन ६ भकुडाका कमलकान्त पन्त रहेको छन् । उनको गएराति प्रहरीले कुटपिट गरेपछि मृत्यु भएको स्थानीयको भनाई छ ।
गाउँकै एक महिलालाई हँसिया देखाएको आरोपमा मृतक पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरीको टोलीले उनलाई कुटपिट गरेको बताइएको छ । कुटपिटबाट वृद्धको मृत्यु भएपछि अनुसन्धानको माग गर्दै स्थानीयले शव समेत उठाएका छैनन् ।
यता इलाका प्रहरी कार्यालय पाटनले भने छोरालाई पक्राउ गर्न खोज्दा अवरोध गरेपछि सामान्य लाठी र हातले हानेको, तर प्रहरीको कुटाईबाट उनको मृत्यु नभएको बताएको छ ।
पन्तको मृत्यु के कारणले कसरी भएको हो भन्ने कुरा पोष्टमार्टमपछि मात्रै खुल्ने र प्रहरीकै कुटाईबाट मृत्यु भएको पाइएमा दोषिलाई कारवाहि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।