काठमाडौं । सजिलै थोरै खर्चमा अमेरिका पुग्ने र त्यहाँकै नागरिक भएर आन्नदको जिवन जिउने प्राय सबैको सपना छ । त्यसरि सजिलै थोरै खर्चमा अमेरिका जाने एउटै उपाय भनेको डीभी पर्नु हो । डीभी भरेर अमेरिका जानेहरुका लागि अमेरिकी सरकारले बुधबार रातीदेखि २०२० का लागि डीभी भर्न आवेदन खुला गरेको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि बुधबार ९ः४५ बजेबाट आवेदन भर्न खुला गरेको हो । डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने समेत अमेरिकी राजदूतावासले जनाएको छ ।
डीभी आवेदन भर्नका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । डीभी भर्न विभिन्न कन्सल्टेन्टहरुको रकम लिइ फाराम भर्ने गरेकाले दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न सबैलाई सल्लाह समेत दिएको छ ।
डीभी भर्न केहि नयां नियमहरु लागु :
दूतावासका अनुसार, यस पटक २०२० को डाइभर्सिटी भिसा डीभी कार्यक्रममा केहि नयां नीतिगत परिवर्तन गरिएको छ ।
– मुख्य आवेदकले अयोग्य पति–पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ ।
– आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिनेछ ।
– आवेदकले एउटा मात्र आवेदन बुझाउन पाउने । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू डीभी चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
– अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न पाईने छैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ ।
– डीभीको आवेदन फारम भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
२०२० को लागी डीभी भर्न यहाँ www.dvlottery.state.gov गएर आवेदन भर्न सकिनेछ ।