पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका –३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरण पारिवारिक विवादका कारणा हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार राति दुई परिवारका ९ जनाको सामूहिक हत्या भएपछि घटना स्थलमा गरेको अनुुसन्धानमा उक्त कुरा खुलेको हो ।
घटनाको अनुसन्धानपछि प्रहरीले मृतकका आफन्तलाई खोज्दै जाँदा फियाक परिवारका ज्वाइँ मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएकाे छ ।
मानबहादुर फियाकका कान्छा ज्वाई भएको खुल्ल आएको छ । मानबहादुरको फियाक परिवारसँग राम्रो सम्बन्ध नभएका कारण उनकी श्रीमतीले पनि सम्बन्ध विच्छेद गर्न चाहेको बताइएको छ ।
प्रहरीका अनुसार घटनाबाट बाँच्न सफल बालिकाको बयानमा भनिए अनुसारको हुलिया पनि मानबहादुरको मिलेको छ । घटनामा एक जनाको मात्रै संलग्नता हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताएका छन् । उनका अनुसार यो प्रारम्भिक अनुसन्धान मात्रै भएको र बाँकी अनुसन्धान पनि भइरहेको छ ।
सदरमुकामबाट घटना स्थल केही टाढाँ भएकाले पनि सबै कुरा अहिले नै भन्न नसकिने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।