ट्याक्सी भाडा समायोजन: एक कि.मि. गुडे अब ३९ रूपैयाँ उठ्ने

छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीको भाडा समायोजन गरेको छ । बुधबार विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको हो ।

विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको थियो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए।

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ।

अहिले ट्याक्सी चलाउन थालेपछि सुरूमा १४ र एक किलोमिटर गुडिसकेपछि ३९ रूपैयाँ उठ्ने गरी भाडा समायोजन भएको छ।

यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेशिनसमेत जडान गरिसकेको छ।

सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७५ मंसिरदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारबाही समेत गरेको जनाएको छ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताउँछन्।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार