काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ३ नम्मर प्रदेशको राेजगार कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई छिट्टै कार्यान्वयनमा ल्याउनका लागि शुक्रबार एक कार्यक्रमकाबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री विष्टले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको सेवाका लागि चुनिएर आएकाले जनताको काम गर्न कहिल्यै झण्झट् र अप्ठ्यारो नमान्न आग्रह गरेका छन् । उनले भने, ‘हामी जनताकै प्रतिनिधि भएर उनीहरुकै लागि काम गछौं भनेर आएका हौं । त्यसैले जनताका आधारभूत आवश्यकता पुरा गर्नु हाम्रो दायित्व हो ।’
स्थानीय तहसँग काम गर्ने अझै दुई वर्ष बाँकी रहेकाले विकास निमार्णका साथै सामाजिक, आर्थिक परिवर्तनका लागि नथाकेर काम गर्न सबै ३ नम्मर प्रदेशका जनप्रतिनिधिलाई आग्रह समेत गरे ।
अहिले वार्षिक ५ लाख युवाहरु श्रम बजारमा आउने भएपनि देशमा ५ लाखलाई रोजगारी दिन तत्काल नसकिएको पनि मन्त्री विष्टले बताए । तर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि आगामी आर्थिक वर्षमा भने ५ लाखलाई रोजगारी दिने जानकारी दिएका छन् ।
मन्त्री विष्टले समझदारी पत्रमा हस्ताक्षर गरेसँगै प्रदेश ३ मा युवाहरुका लागि रोजगारीको बाटो खुलेको छ । यो योजना लागुपछि धेरै युवाले आफ्नौ ठाउँमा रोजगार पाउने विश्वास गरिएको छ ।