काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल रोक्न आग्रह गरेको छ ।
कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला परिचय पत्र विवरणको काम जारी राख्नु आपत्तीजनक भएको भन्दै त्यसलाई तत्काल रोक्न काँग्रेसले सरकारसँग माग गरेको हो।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सांसदहरुले यसबारे आपत्ती जनाएका हुन ।
छलफलमा सहभागी सांसद दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणबारे छलफल भइरहेकै बेला सरकारले परिचय पत्र वितरण गर्ने कार्य जारि राखेको भन्दै आपत्ती जनाए ।
सा.सद बडुले राष्ट्रिय परिचयपत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेको दावी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई आग्रह गरे।
काँग्रेस सांसद अमरेशकुमार सिंहले कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो रु भन्दै सरकारलाई प्रश्न गरे ।
काँग्रेस सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको उल्लेख गरे ।












