काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंगापुरबाट गरिएको भिडियो कन्फ्रेन्सका बिषयमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि संचारमन्त्री बोल्न बाध्य भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले भने, “प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसंग गरेको भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको हो, मन्त्रीपरिषद्को बैठक नै बसेको होइन त्यो म स्पष्ट पार्न चाहन्छु।”
भिडियो कन्फ्रेन्सको बिषयलाई लिएर अनावश्यक रुपमा भ्रम फैलाउन खोजेकोे भन्दै मन्त्री बास्कोटाले आपत्ती समेत जनाए ।
“मन्त्रिपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ उनले भने, तर हामीले प्रधानमन्त्रीसंग भिडियोमार्फत क्याबिनेट बैठक भनेका पनि छैनौ र पास गर्नलाई कुनै एजेण्डा पनि थिएन।”
टेक्नोलोजीको प्रयोग गर्दै यस्तो कार्य पनि गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनको भनाई छ ।
बैठकमा मन्त्री बास्कोटासंग प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले हेलो हाई भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावलि किन संशोधन गरियो भन्दै प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट पनि बस्न सक्ने जवाफ दिएका थिए ।














