
काठमाडौं । पछिल्लो समय डेंगु रोगको समस्या देशभरी नै देखिन थालेको छ । यसको नियन्त्रण भने स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले नहुने सरकारका स्वास्थ्यमन्त्री नै बताइरहेका छन् ।
उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रण गर्न मन्त्रालयको एक्लो प्रयासले अपुग रहेको बताए ।
बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले डेंगु रोग नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको मात्र दायित्व नठानेर सबैले प्रयास गर्नुपर्नेमा जोड समेत दिए ।
स्थानिय, प्रदेश र केन्द्र सरकार सबै मिलेर अभियानमा लाग्नुपर्छ उनले भने, स्वास्थ्य मन्त्रालयले डेंगु मार्न गाउँ गाउँ गएन भनेर छोडिदियौं भने यो नियन्त्रणमा आउन सम्भवछैन ।
उपप्रधानमन्त्री यादवले डेंगु रोगका विरामीको उपचारमा मन्त्रालयकोतर्फबाट कुनै कमी नहुने समेत बताए ।
स्वास्थ्य सचिव डा। पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिन् । उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरी मृत्युदर घटाउने तर्फ उपचारलाई केन्द्रित गर्नुपर्ने पनि बताइन् ।
मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिले सम्म १ हजार ५ सय ३७ जना विरामी परेको मन्त्रालयले जनाएको छ ।
डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातो रातो बिमिराहरु देखापर्ने चिकित्सकहरुले जनाएका छन् ।








