काठमाडौँ– अझै पनि समाजमा जातिय विभेद तथा छुवाछूतका घटना ब्याप्त छन् । कानूनमा देश छुवाछूत मुक्त घोषणा भएको बर्षौ भइसकेको भएपनि समस्या ज्युका तिउ नै छ । यहि लाजमर्दो समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ ।
उक्त अभियानका लागि आयोगले सरोकारवालासँग राय÷सुझाव लिने उद्देश्यले शुक्रबार काठमाडौंमा छलफल समेत गरेको छ । आयोगले गर्न लागेको देशव्यापी अभियान सञ्चालनका लागि प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ । सम्पन्न सम्मेलनबाट प्रतिवेदन तयार गरि कार्ययोजना समेत तयार गरेको आयोगले जनाएको छ ।
शुक्रबार भएको छलफलमा दलित समुदायका मानवअधिकारका विभिन्न विषयमा सम्मेलन केन्द्रित हुनुपर्ने तथा कानून कार्यान्वयन गर्ने निकायलाई सम्मेलनमा समावेश गर्नुपर्ने सुझाव दलित अधिकारकर्मी, विभिन्न संघसस्थाका प्रतिनिधी लगायत सरोकारवालाहरुले दिएका थिए ।
त्यसैगरी, दलित र गैरदलित सबैको सहभागिता हुनुपर्ने, सम्मेलनबाट आएका विषयको सम्बन्धमा सरकारलाई सिफारिश गरी सकेपछि आयोगले स्थायी संयन्त्र निर्माण गरी कार्यान्वयनको लागि निरन्तर पहल गर्नुपर्नेलगायतका अन्य सुझाव समेत दिएको थियो ।