बाहुनको छोरी र विश्वकर्माको छोराबीच मागी विवाह

इटहरी । इटहरीका दुई युवाले समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन । अरुलाई सामाजिक परिवर्तन गर्नु पर्छ भनेर सिकाउनु भन्दा पनि त्यसको सुरुवाद उनीहरुले आफैबाट गरेका छन् ।

हाम्रो समाजमा अन्तरजातिय विवाहलाई मान्यता दिइदैन् । अन्तरजातिय विवाहकै कारण कतिको हत्या भएको छ भने, कति घरपरिवार र समाजबाटै बहिस्कृत बनेका छन् । तर इटहरीका सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले भने आफुलाई यही समाजमा स्थापित गराएरै छोडे ।
उनीहरुले दुई परिवारबीचमा सहमति गराएर परम्परागत रुपमा दुई अन्तरजातीय मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् ।

इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे ।

ननविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारत्मक परिवर्तनका अभियन्ताहरु हुन। बाल समूहबाट स्थानीय स्तरमा स्थापित हुँदै कलमको माध्यमले जातिय विभेद र असमान मूल्य मान्यतालाई चिर्दै हानिकारक मनोविचार बिरुद्ध अभियानहरु संचालन गरी सामाजिक रुपमा स्थापित दुवै शसक्त युवा सहकर्मी हुन् ।

बिद्यमान जातीय विभेद र छुवाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चुनौतीको रुपमा रही आएको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद कायमै रहेको छ । तर एक ब्राह्मण समुदायकी छोरी र र दलित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पुरातनवाद बिरुद्दको ठूलो र सकरात्मक परिवर्तनको प्रयास हो ।

सो वैवाहिक अवसरमा दम्पतिलाई आशिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मीका,न्याकर्मी,महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बाक्लो उपस्थित रहेको थियो । हर्षित मुद्रामा उपस्थिति जनाएका सम्पुर्ण समुदायका पाहुनाहरुले नवदम्पतीले अबको युवापुस्तालाई जातीय भ्रमदेखि उन्मुख हुनका लागि निकै ठुलो उदाहरण पेस गरेको भन्दै विवाहको शुभकामना दिए ।

आठ बर्षदेखि अध्ययनको शिलशिलामा अस्ट्रेलिया बसोबास गर्दै आएका नवदम्पतीद्वय सामाजिक न्यायका लागि सक्रिय छन् । उनीहरुले समाजलाई परिवर्तन गर्न आफुबाटै सुरु गर्नुपर्छ भन्ने ठुलो चुनौती दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार