भरतपुर महानगरले गर्यो अन्तरजातीय विवाह गरेका ७ जोडीलाई नगदसहित सम्मान


चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई एक लाखसहित सम्मान गरेको छ । महानगरले आज एक कार्यक्रमको आयोजना गरी मेयर रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सातै जोडी नगद एक / एक रुपैयांसहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ ।
महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने ६ जोडीलाई सम्मान गरेको थियो ।

समाजमा अझै पनि व्याप्त जातीय विभेदलाई अन्त्य गराउन यस्ता अन्तरजातीय विवाहको ठुलो महत्व राख्ने भएकाले त्यस्ता जोडीहरुलाई महानगरले उच्च सम्मान गर्दै आएको मेयर दाहालले बताइन् । सम्मान कार्यक्रममा बोल्दै उनले महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको समेत बताइन्। संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जस्तो परिवर्तन हुन नसकेको उनको भनाई छ ।

मेयर दाहालले जनयुद्धको समयभन्दा अगाडि समाजमा दलित समुदायलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै अहिले त्यसमा केहि परिर्बतन आएपनि अन्तरजातीय विवाह गरेकै कारण सामाजिक वहिष्कार र मृत्युसम्मका घटना हुनु गम्भिर बिषय भएको बताइन् । जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो ।

अन्तरजातीय विवाह गरेकै कारण धादिङका अजित मिजार, रुकुमका नवराज विक लगायतको हत्या भएको थियो । त्यस्तै कतिपय जोडीहरु अन्तरजातीय विवाह गरेकै कारण गाउँ समाजबाट विस्थापित भएका खबरहरु बेला बेला आइरहन्छन् । समाजमा अन्तरजातीय विवाह गर्ने जोडीलाई नगदसहित सम्मान गर्ने भरतपुर महानगरको कार्यलाई अधिकारकर्मीहरुले सकारात्मक कार्य भन्दै प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार