
कैलाली । कैलाली प्रहरीलाई ठुलो सफलता मिलेको छ । जिल्लामा रहि विभिन्न अवैध कार्यमा संलग्न रहेका ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले धनगढी चटकपुरस्थित एक घरबाट चार थान पेस्तोल‚ सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीन जनालाई बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीद्धारा पक्राउ परेका सञ्जय राणा‚ रुद्रप्रसाद अधिकारी र कमल बहादुर बिकलाई सार्वजनिक गरिएको हो ।
उनिहरुबाट बरामद भएको चार थान पेस्तोल, ३ सय ७९ दशमलव ३६ ग्राम सुन, राष्ट्र बैंकका नक्कली चेक कागजात‚ गर्भनरको सहिछाप, , विभिन्न व्यक्तिका लालपुर्जा र विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक पनि प्रहरीले सार्वजनिक गरेको छ ।

उनिहरुलाई बुधबार (हिजो) पक्राउ गरि बिहीबार सार्वजनिक गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरी बताए ।
प्रहरीले धनगढी उपमहानगरपालिका–६ मटियारीका ३८ वर्षिय सञ्जय राणा भनिने सञ्जय राना, र मटियारीकै ३३ वर्षिय कमल बहादुर बिक र मकवानपुर आमभञ्ज्याङ घर भई हाल वडा नम्बर ३ मा बस्दै आएका २७ वर्षिय रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरि सार्वजनिक गर्दै थप अुनसंन्धान बाँकी रहेको बताएको छ ।
तीनजना मध्ये राणा साना हतियार कारोवारी, सुन, मिटर व्याज, ढुकुटी लगायतका अबैध धन्दामा संलग्न भएको जानकारी पाएपछि प्रहरीको सिआईवीले उनलाई केहि समयदेखि निगरानीमा राखेको थियो।
राणाको बाहिर देखिने कुनै व्यापार व्यवसाय नभए पनि उनको जीवनशैली र आर्थिक हैसियत देखेर सिआईवीको टोलीले उनीमाथि अनुसन्धान गर्दै लामो समयपछि पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक गिरिले बताए। सिआईवीको टोलीले चारदिनदेखि राणालाई पछ्याउदै आएको थियो ।












