काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे । जीवनराम दोस्रो पटक नेपाल ओलम्पिक कमिटीको अध्यक्ष निर्वाचित भएका छन् ।
शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमो जीवनरामले १७ मत पाउँदा उमेशलालको पक्षमा १० मत परेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा श्रेष्ठ दुईपल्ट राखेप सदस्यसचिव नियुक्त भइसकेका छन भने काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद पनि हुन्।
यसैगरी महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे । लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाए ।
सम्पन्न निर्वाचनमा ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा २६, चतुरानन्द राजवैद्य २२, तेजबहादुर गुरुङ २०, सुनिलकुमार श्रेष्ठ १८ र अशोकरत्न बज्राचार्य १५ निर्वाचित भएका छन् । उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारीले १२, पुष्पदास श्रेष्ठले ११ र राजीव श्रेष्ठले ११ मत पाए ।
उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चुनिएका छन् ।
यसैगरी ३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सचिवका अर्का प्रतिस्पर्धी केशवकुमार विष्ट भने पराजित भए । राखेपका पूर्वसदस्यसचिव समेत रहेका विष्टले १७ मत पाए ।
नेपाल ओलम्पिक कमिटीको ७ सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी २६, प्रकाशशम्सेर राणा २६, गोपालसुन्दर लाल कक्षपति २६, दीर्घबहादुर केसी २६, होमबहादुर दोङ २५, टासी घले २४ र राम अवाले २० निर्वाचित भए । सदस्य पदका अर्का प्रतिस्पर्धी मनोरञ्जनरमण शर्मा भने पराजित भए । शर्माले ९ मत मात्र पाए ।
हाम्रा भिडियो सामाग्री पनि हेरौं ।