
बैतडी । चाँडबाँडका बेला सिमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । सिमा क्षेत्रका बासिन्दा दैनिक उपभोग्य बस्तु लगायत चाँडबाँडको किनमेल गर्नका लागि भारतिय नाकास्थित बजार जाने गर्दछन । तर, बैतडीको नेपाल–भारत सीमा नाका झुलाघाट भने आजदेखि ३ दिनसम्मका लागि बन्द हुने भएको छ ।
भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।
अहिले साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनसम्मका लागि सीमानाका बन्द हुने जनाइएको छ । यसका साथै अक्टोवर १६ तारेख (असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ ।
उक्त नाका असोज २७ गते साँझ ५:१५ बजेदेखि असोज २९ गते साँझ सवा ५:१५ बजेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।












