एंगेला मेर्कलले उनको हालको चौथौ कार्यकाल नै जर्मनीको चान्सलरका रुपमा अन्तिम हुने बताएकी छन्।
सत्ताधारी गठबन्धन सरकारको स्थायीत्वमाथि नै खतरा उत्पन्न गराउने गरी क्षेत्रीय चुनावमा उनको दल क्रिश्चियन डेमोक्र्याट पार्टी सीडीयूले ठूलो हार बेहोरेपछि उनको त्यस्तो निर्णय आएको हो।
पार्टी प्रमुखको पदबाट आफू हट्ने बताउँदै उनले आगामी डिसेम्बरमा हुने सीडीयूको महाधिवेशनमा पार्टी प्रमुखका लागि उम्मेद्वारी नदिने पनि उनले बताइन्।
नयाँ अध्याय सुरु गर्नका लागि समय आएको भन्दै उनले आफू सन् २०२१ सम्म मात्र चान्सलरको पदमा रहने बताएकी हुन्।
सन् २०२१ मा उनको कार्यकाल सकिंदैछ।
मेर्कल सन् २००० देखि सीडियू दलको प्रमुख रहदैँ आएकी छन्।
चान्सलर
सन् २००५ मा पहिलो पटक उनी जर्मनीको चान्सलरमा चुनिएकी थिइन्।
पार्टीको पद छाड्ने उनको निर्णयले सीडियूभित्र उनको उत्तराधिकारी खोज्नेबारे होडबाजी निम्ताउन सक्छ।
कार्यकाल सकिएपछि कुनै राजनीतिक पदमा पनि नरहने उनले बताएकी छन्।
जर्मनीमा सन् २०२१ मा संघीय चुनाव हुँदैछ र सोही चुनावमार्फत नै पार्टीको प्रमुख को बन्ने भनेर प्राय:जसो तय हुन्छ।
देशकै पहिलो महिला चान्सलर मेर्कल व्यावहारिक र विवेकी नेताका रुपमा सत्तामा पुगेकी हुन्।
तर शरणार्थीसम्बन्धी खुला नीतिका कारण त्यहाँ व्यापक चिन्ताहरू उत्पन्न भएका थिए जसले गर्दा उग्रदक्षिणपन्थी एएफडी जस्ता दलले चर्चामा आउने मौका पाएका थिए।
आप्रवासनसम्बन्धी उनको नीतिले गठबन्धन सरकार विभाजित रहेको भनेर देखाएको थियो र उनकै राजनीतिक दलभित्र पनि त्यस्तो विभाजन देखिन्थ्यो।
कोलोन शहरमा आप्रवासीमाथिहरू भएका यौन आक्रमणहरू तथा जर्मनीमा भएका इस्लामवादी हमलाहरूका कारण पनि उनको लोकप्रियता घट्न पुगेको थियो।
साभार- बिबिसी