कञ्चनपुर । कञ्चनपुरका चर्चित पत्रकार खेम भण्डारी विरुद्ध कञ्चनपुर जिल्ला अदालतमा फेरि अर्को मुद्दा दर्ता भएको छ । उनीविरुद्ध भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्टले मुद्दा दर्ता गराएका हुन्।
निर्मला हत्या प्रकरणमा जोडिएका विषयमा आफुलाई बदनाम गराउने गरी पत्रिका र सामाजिक संजालमा लेख र स्टाटस लेखिएको भन्दै विष्टले गाली बेइजतीमा मुद्दा दर्ता गराएका हुन्।
यसअघि पत्रकार भण्डारीलाई गत साउनमा एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश अदालतले सुनाएको थियो। जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको आदेश सुनाएको थियो । उक्त आदेश अनुसार भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायँ भुक्तान गरिसकेका छन्।
भण्डारीविरुद्ध निर्मला प्रकरणमा जोडिएका बम दिदी बहिनी मध्ये दिदी अनिता र तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि छुट्टाछुट्टै गाली बेइज्जती मुद्दा दायर गरेका छन्।
भण्डारीले सामाजिक संजाल फेसबुकमा विभिन्न विषयमा शंका र उपशंका गरिएका स्टाटस लेख्दै आएका छन् । उनले निर्मला प्रकणमा सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै दबाब दिने गरेका छन् ।












