
सुर्खेत । कर्णाली प्रदेश सरकारले एउटा गज्जबको योजना सुरु गरेको छ । कर्णालीमा जन्मने हरेक छोरीको नाममा बैंक खाता खोल्ने र हरेक महिना पाँच सय रुपैंया जम्मा गरिदैछ ।
“बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको” कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो।
कर्णाली प्रदेश सरकारले यही आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यो योजना ल्याएको थियो। यो योजनाअन्तर्गत छोरीको नाममा बैंक खाता खोली २० वर्ष नपुग्ने बेलासम्म झिक्न नमिल्ने गरी खातामा मासिक पाँच सय रुपैया जम्मा गरिने छ।
सुरुमा खाता खोल्दा १ हजार रुपैयाँ जम्मा गरिनेछ भने त्यसपछि २० वर्ष पुग्ने बेलासम्म मासिक पाँच रुपैयाँका दरले खातामा पैसा जम्मा हुने कर्णाली प्रदेश सरकारले जनाएको छ।
खाता खोलिएका छोरीहरु २० वर्ष पुग्दासम्म उनको खातामा प्रतिव्यक्ति एक लाख २१ हजार रुपैयाँ जम्मा हुन्छ। ब्याजसहित भने खातामा करिब दुई लाख रुपैयाँ जम्मा हुनेछ।
यो योजना मंगलबारदेखि मुख्यमन्त्रीको गृहजिल्ला कालिकोटबाट सुरु भइसकेको छ। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १ र २ का दुई दलित समुदायका बालिकाको बैंक खाता खोलेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजनाको सुरुवात गरेका छन् ।
२०७६ साउन १० गते जन्मिएकी जानकी परियार र असोज २३ गते जन्मिएकी जमुना सुनारको खाता खोलेर कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए।
उनका अनुसार स्थानीय तहमा उपलब्ध बैंकहरुमा खाता खोल्ने योजना अनुसार खाँडाचक्रमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा जमुना र जानकीको खाता खोलिएको छ। जमुना र जानकीका नाममा एक÷एक हजार रुपैयाँ सुरुमा जम्मा गरिएको उपाध्यायले जानकारी दिए। जन्मेको दुई महिनामै खाता खोलिएकी जमुनाको २० वर्ष उमेर पुग्दा बैंक खातामा व्याजसहित करिब २ लाख रुपैयाँ जम्मा हुनेछ।
कर्णाली प्रदेश सरकारको चालु आर्थिक बजेटमा यो कार्यक्रमका लागि ७ करोड रुपैयाँ विनियोजना गरिएको छ। चालु आर्थिक बर्षभित्रै कर्णालीमा कम्तिमा ११ हजार छोरी जन्मिने अनुमान गरी बजेट विनियोजन गरिएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए।
कर्णाली प्रदेश सरकारले छोरीमाथि हिंसा, भ्रूणहत्या, छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने प्रचलन, लैंगिक विभेद, बालविवाह जस्ता विषयलाई लक्षित गरेर यो कार्यक्रम ल्याएको जनाएको छ । यो कार्यक्रमले छोरीको लालनपालन र शिक्षा, दिक्षामा सहयोग पु¥याउने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वास यक्त गरे ।
“बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको” कार्यक्रमले छोरा जन्माउनैपर्छ भन्ने सोचमा परिवर्तन ल्याउने अपेक्षा समेत प्रदेश सरकारको छ।
२० बर्ष अघि नै विवाह र पढाइ बिचमै छोडे रकम नपाइने
सरकारले ल्याएको यो योजना अनुसारको नियमहरु पालना नगरेकोखण्डमा बै.कमा जम्मा भएको पैसा पाइने छैन । त्यसका लागि छोरीका नाममा जम्मा गरिएको पैंसा उनीहरु २० बर्षको पुगेपछि मात्र निकाल्न पाइनेछ । उमेर २० वर्ष पुगेपनि माध्यामिक तहसम्मको पढाई पूरा नगरेमा, पढाई बीचैमा छोडेमा र २० बर्ष नपुग्दै विवाह गरेमा बै.कमा जम्मा भएको उक्त रकम निकाल्न पाइने छैन।
खातामा जम्मा भएको रकम भुक्तानी लिन खातावाला छोरीले २० बर्ष पूरा गरेको र माध्यमिक शिक्षा पूरा गरेको प्रमाणपत्र सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।
कार्यविधि अनुसार केही अवस्थामा २० वर्ष नपुग्दै र माध्यमिक शिक्षा अध्ययन गर्दै गर्दा रकम भुक्तानी लिन पनि सकिन्छ। खातावाला छोरीको मृत्यु भएमा, कडा रोग लागेको वा गम्भीर प्रकृतिको अपांगता भएमा, अभिभावक वा संरक्षकको मृत्यु भइ आर्थिक कठिनाईका कारणले विद्यालय शिक्षालाई निरन्तरता दिन वा पूरा गर्न नसक्ने अवस्था भएमा भने यो रकम निकाल्न पाइने व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले ल्याएको उक्त योजनाको अहिले सबैतीर प्रसंशा भइरहेको छ । विकट र पिछडिएको क्षेत्रका रुपमा रहेको कर्णाली क्षेत्रमा गरिबी र अशिक्षाका कारण छोरीमाथि चर्को विभेद रहेको पाइन्छ । उक्त विभेद र समस्यालाई धेरै हदसम्म चिर्न सरकारले ल्याएको यस योजनाले सहयोग पुग्ने विश्वास दिइएको छ ।









