प्रधानमन्त्रीको नयां प्रस्ताव: दैनिक ६ घण्टा र हप्तामा ४ दिनमात्रै काम गर्नुपर्ने


काठमाडौं । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेर चर्चामा रहेकी फिनल्याण्डकी प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले आफ्नो नयां योजना घोषणा गरेकी छन् ।

अन्तराष्ट्रियसंचारमाध्यमका अनुसार मरिनले आफ्नो देशमा कामको लचिलो तालिका सुरु गर्ने बताएकी छिन्  । उनको लचिलो तालिका अनुसार दैनिक ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेछ ।

मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय व्यतित गर्ने मौका पाउने बताएकी छिन् । सन्ना एक सन्तानकी आमा समेत हुन् ।

हरेक मानिसले आफ्नो परिवार, मनपरेका व्यक्ति, आफ्नो इच्छा, आकांक्षा र जीवनका विभिन्न पाटोसँग पर्याप्त समय व्यतित गर्न पाउनुपर्ने मरिनको भनाइ छ ।

मरिन प्रधानमन्त्री बन्नुअघि उनी फिनल्याण्डकी यातायात मन्त्री थिइन् ।

त्यतिबेला पनि उनले कर्मचारीको उत्पादन क्षमतामा विकास गर्न हप्तामा थोरै समयमात्रै काम गर्ने नियम लागु हुनुपर्ने माग राखेकी थिइन् ।

फिनल्याण्डमा अहिले दिनमा आठ घण्टा र हप्तामा पाँच दिन काम गर्नु सामान्य हो । मरिनको यो प्रस्तावलाई शिक्षामन्त्री ली एन्डरसनले तत्कालै समर्थन गरेको बताइएको छ ।

फिनल्याण्डको छिमेकी स्विडेनमा सन् २०१५ देखि दिनमा ६ घण्टा काम गर्ने नियम लागू भइसकेको छ । यसो गरेबापत् कर्मचारी निकै खुसी र सुखी भएको र उनीहरुको कार्यक्षमतामा वृद्धि भएको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार