
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपालको भुमि भारतले मिचेको बिषयलाई अन्तराष्ट्रियकरण गर्न सुझाव दिएको छ ।
भारतले नेपालको कालापानीमा राखेको आफ्नो सेना यत्तिकै फिर्ता नलाने भएकाले यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मसालको निश्कर्ष छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा यो कुरा जोडदारले उठाएका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भुमि भारतले मिचेको विषयलाई संयुक्त राष्ट्र संघमा लैजान सरकारले पहल गर्नुपर्ने उल्लेख समेत गरेका छन् ।
भारतले मिचेको नेपाली भुमी फिर्ता ल्याउने विषयमा सम्पुर्ण जनता, राजिनीतिक दल एकताबद्ध भइ कुटनीतिकस्तरबाट समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने मसालको सुझाव छ ।
महामन्त्री सिंहले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, “भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र कालापानीबाट पनि सजिलैसित आफ्नो आफ्नो सेना नहटाउने प्रष्ट छ, त्यसकारण उक्त विषयलाई संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय अदालतमा लैजान तथा अन्तराष्ट्रियकरण गर्न समेत सरकारले पहल गर्नुपर्दछ ।”










