
कैलाली । कैलालीको एक सामुदायिक बनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार नगद घुससहित रंगेहात पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई १ लाख ६० हजार घुस लिंदै गर्दा पक्राउ गरिएको हो ।
सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग दुबैजनाले सो रकम लिँदै गर्दा रंगेहात पक्राउ परेको हुन ।
डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरबाट खटिइएको टोलीले थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले डोजर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।










