मेलम्ची खानेपानीको सुरुङ मार्ग परीक्षण, मन्त्री मगर भन्छिन: ‘अब मेलम्चीको खानेपानी कसैले रोक्न सक्दैन,


काठमाडौं । मेलम्ची खानेपानी आयोजनको मुहान परिक्षण गरिएको छ । सोमबार खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरूको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको हो।

मुहानबाट सुरुङमार्फत अम्वाथानसम्म पानी पठाउँदा सफल भएको खानेपानी मन्त्री बिना मगरले जानकारी दिइन् ।

‘सोमबार अस्थायी बाँधमार्फत गरिएको परीक्षण सफल भयो, अव काठमाडौबासीले मेलम्चीको पानी पिउने दिन धेरै टाढा छैन’, मन्त्री मगरले भनिन् । मन्त्री बिना मगरले मेलम्ची आयोजना अब कसैले रोक्न नसक्ने बताइन्।

आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरुको परीक्षण कार्य जारी रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए।

परीक्षण गर्दा उक्त सुरुङ मार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताए। खत्रीकाअनुसार सिनो हाइड्रो आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ।

हाल मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्रको मुख्य (हेडवर्क)को काम भइरहको छ । बाँधको काम सकिएपछि पानी काठमाडौ पानी पठाउने तयारी हुनेछ ।

मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

आगामी जेष्ठ १५ सम्ममा बाँकी कामहरु सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।

बर्षौदेखि खानेपानीको समस्या झेलिरहेका उपत्यकावासीले मेलम्चीको पानी पिउने दिन अब धेरै टाढा छैन । मेलम्चीको पानीमा लामो समयदेखि राजनीति समेत हुँदै आएकाले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन नसकेको हो ।

मेलम्चीमा कहिले डेकेदारको लापरवाही त कहिले राजनीतिक बिषय बनाइदा उपत्यकावासीका लागि मेलम्चीको खानेपानी सपना जस्तै बन्दै आएको थियो ।

तर, पछिल्लो समय खानेपानीमन्त्री मगरको सकृयता र ताकेताले आयोजनाको कामले तिर्बता पाइ मेलम्चीको पानी उपत्यकावासीले छिट्टै पिउन पाउने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार