काठमाडौं । कोरोना संक्रमितको संख्या नेपालमा चार पुगेको छ । धनगढीमा एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या चार पुगेको हो ।
प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३४ वर्षका ती पुरुष दुबईबाट आएको शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
विदेशबाट आएका उनलाई ज्वरो आएपछि चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनको अवस्था अहिले सामान्य रहेको बताईएको छ ।
संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक जना निको भएर घर गइसकेका छन् भने दुई जनाको अवस्था सामान्य रहेको छ ।










