
कैलाली । कोरोना भाइरसको जाँच अब सुदूरपश्चिमका तीनवटा जिल्लामा हुने भएको छ ।
शनिबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कैलाली, बैतडी र डोटीमा कोरोना संक्रमण भए / नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको हो।
बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला (ल्याब) स्थापना गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले जानकारी दिए।
अहिलेसम्म कोरोनाको संकलित नमुना काठमाडौं पठाउने गरिएको छ ।
यस्तै प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। कोषमा प्रदेश सरकारले ४० करोड रकम उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले कोरोनाका कारण मजदुरी गरेर खाने बर्गहरु लागि राहात प्याकेज ल्याउने समेत निर्णय गरेको छ । गरिबीको रेखामुनि रहेका र दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न वर्गहरुलाई राहत प्याकेज घोषणा गर्न संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गरी कार्य अघि बढाउने निर्णय गरिएको मन्त्री शाहले बताए ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशैभरी गरिएको लकडाउनका कारण दैनिक मजदुरी गरेर खानेहरुलाई हातमुख जोर्न नै समस्या भएको छ । लकडाउनमा घरबाट बाहिर जान नमिल्ने भएकाले काम गरेर छाक टार्ने बर्ग थप पीडित भएको छ ।










