
भारत । भारतमा जारी लकडाउनका कारण हजारौं नेपाली अलपत्र परेका छन् । लामो समयदेखि जारी लकडाउनले भारतको पंजाव चण्डिगढ लगायत दर्जनौं ठाउँमा हजारौं नेपाली अलपत्र परेको प्रगतिशील नेपाली समाज भारतका महासचिव लोकेन्द्र सेर्पालीले जानकारी दिए ।
रोजगारीको लागि चण्डिगढमा रहेका नेपालीहरु लकडाउनका बेला अलपत्र परेपछि आज (बुधबार) बिहान उनिहरुलाई प्रगतिशील नेपाली समाज पंजाव राज्य समितिले केहि राहत वितरण गरेको प्रगतिशील नेपाली समाज भारतका केन्द्रिय सदस्य विनोद शर्माले बताए ।
‘अलपत्र नेपालीहरु रोगले भन्दा पनि भोकले मर्ने चिन्तामा छ सदस्य शर्माले भने, हामीले उनिहरुलाई तत्कालका लागि केहि खाद्यान्न लगाउतका राहात सामाग्री दिएका छौं ।’
अलपत्र नेपालीको उद्धारका लागि पहल गरिदिन नेपाली राजदुतावासलाई अनुरोध समेत गरिएको प्रगतिशील नेपाली समाज पंजाव राज्यका अध्यक्ष राजेस सोनीले बताए ।
लकडाउनका कारण रोजगारी गुमेपछि नेपाल फर्कन लागेका हजारौं नेपालीहरु भारतका विभिन्न रेल्वे स्टेशन, बस पार्क र सडकहरुमा चर्को घाममा अलपत्र छन् । उनिहरुलाई अहिले खान र बस्नको निकै समस्या भइरहेको प्रगतिशील नेपाली समाज भारतका महासचिव सेर्पालीले बताए ।
‘मलाई दिनकै भारतको गोवा, मुम्बई, बेंग्लोर, पुना, दिल्ली, चण्डिगढ, गुजरात, केरला लगायतका ठाउँहरुबाट सयौं जनाको फोन आइरहेका छ महासचिव सेर्पालीले भने, उनिहरुलाई खान बस्नकै समस्या छ । सकेको केहि सहयोग हामीहरुले गरिरहेका छौं तर अवस्था नाजुक बन्दै गइरहेको छ ।’
भारतका विभिन्न ठाउँमा अलपत्र नेपालीहरुलाई अहिले विभिन्न संघ, संगठन, व्यवसायीहरुले सहयोग गरिरहेको भएपनि त्यो धेरै दिनसम्म नसकिने महासचिव सेर्पालीको भनाई छ।
लकडाउनमा गरीब, मजदुरको आक्रोष बढ्दै

भारतमा दोस्रो पटक में ३ तारीकसम्म लकडाउन थपिएपछि रोजगारीका लागि भारतमा रहेका नेपाली लगायत त्यहाँका गरीब, मजदुर बर्ग निकै समस्यामा परेका छन् । भारत सरकारले लकडाउनमा गरीब, मजदुर, अशक्तहरुलाई राहात दिइरहेको भएपनि त्यो सबै ठाउँमा नपुगेको र अप्रयाप्त रहेको ब्यापक गुनासो आइरहेका छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो (मंगलबार) लकडाउन लम्बिएको घोषणा गरेपछि भारतका कतिपय ठाँउमा मोदीको पुत्ला समेत जलाइएको थियो । लकडाउनमा गरीब र मजदुरका लागि सरकारले कुनै राहात नल्याएको भन्दै उनिहरुले बिरोध गरेका हुन ।
लकडान थपिएकै दिन हिजो मुम्बईको बान्द्रा रेलवे स्टेशनमा हजारौंले प्रदर्शन गरेका थिए। सडकमा निस्किएका ती हजारौं मजदुरलाई हटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । भारतका विभिन्न ठाउँमा अहिले १२ करोड मजदुरहरु अलपत्रमा परेका छन् ।













