
मोरङ । मोरङमा स्कारपियोको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङको कानेपोखरी खण्डमा स्कारपिओले गएराती करिब साढे ८ बजेतीर ठक्कर दिदा पैदलयात्री महिला र मोटरसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले बताए ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापा बाह्रदशी गाउँपालिका- ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बु, पाँचथरको फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ रहेका छन् । मृतक अन्दाजी ४५ वर्षीया पैदलयात्री महिलाको सनाखत हुन नसकेको डीएसपी दिलीप गिरीले जानकारी दिए ।
उनकाअनुसार झापाको दमकबाट इटहरीतर्फ जाँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले पैदल यात्री र विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अघि बढाएको जनाएकोछ ।







