
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै फेरि नियुक्त गर्न माग गर्दै सोमबार साँझ माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ । कुलमानका समर्थकहरुले राष्ट्रिय झण्डासहित मैन बत्ती बालेर प्रदर्शन गरेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल हिजो सकिएको छ । तर पनि सरकारले समयमै निर्णय लिन नसक्दा युवाहरुको समूहले सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले प्राधिकरणमा फेरि कुलमानालाई नै निरन्तरता दिन दबाब दिइरहेका छन् ।
उता प्रधानमन्त्री निवास बालुवाटारमा यसै विषयमा टुंगो लगाउन मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले कुलमानको विषयमा टुंगो लगाउने अनुमान गरिएको छ । यो विषयमा के हुन्छ भन्ने कुरा बैठक सकिएपछि मात्रै थाहा हुने छ ।
जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ । कलाकार दिपकराज गिरी, करिशमा मानन्धर लगायतले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती भिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।
कुलमानलाई निरन्तरता दिएन भने आन्दोलन गर्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।











