
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। आज अनामनगरको एक होटलमा बसेको नेता शेखर कोइराला समुहको बैठकले महामन्त्री थापालाई दलको नेताका रुपमा उम्मेदवार बनाउने निर्णय गरेपछि देउवा र थापाको भिडन्त पक्का भएको हो ।
थापाको नाम संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गर्ने र पार्टी उपसभापति धनराज गुरुङले समर्थन गर्ने गरी बैठकमा निर्णय भएको हो ।
दलको नेताका लागि आज दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँने कार्यक्रम छ भने भोली बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम रहेको काँग्रेसले जनाएको छ ।
नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले दलको नेतामा आफैँ उम्मेदवार बन्ने वा कसलाई सघाउने भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन् ।
थापालाई अर्का महामन्त्री विश्व्प्रकास शर्माले पनि सर्मथन गरेका छन् ।
पाँचौ पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्छने तयारीमा छन् भने महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।
कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उसैलाई पार्टीका तर्फबाट प्रधानमन्त्री बनाउने अभ्यास हुँदै आएको छ ।










