
महोत्तरी। दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिस्करणमा परेको छ। महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै महतो समाजले बहिस्कार गरेको हो ।
महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार) को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा ६ दिनमा हुने छठिहारमा शुभनारायणले साधुसन्तको भोज (भण्डारा) गरेका थिए । सोही भोजमा महतो सरिक भएपछि उनलाई दलितको भोज खाएको भन्दै सामाजिक वहिष्कार गरेको हो । उनलाई महतो (कोइरी) समुदायले सामाजिक वहिष्कार गरेका हुन् ।
पीडित भिखारीले आफूलाई गाउँका रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको भोज खाएको निहुँमा सामाजिक वहिष्कार गरेको बताएका छन् । शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनैपनि भोज भतेरमा सरिक हुन नदिएको भिखारीले बताएका छन् ।
आफूले कहिल्यै पनि तल्लो–माथिल्लो जातको भनेर जातीय भेदभाव नगरेको पीडित भिखारीको भनाई छ । आफुलाई सार्वजनिक माफी माग्न कर गरिरहेको उनले बताएका छन् ।
आफुलाई बिना गल्ती माफी माग्न कर गरेको र समाजमा वहिष्कार गरेको भन्दै भिखारीले दोषीहरुमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्याय गौशालामा उजुरी दिएका छन् । तर जातीय भेदभाव जस्तो जघन्य अपराधको घटनामा पनि प्रहरीले खासै चासो नदिएको भिखारीको गुनासो छ ।
यसरी कुनैपनि ब्यक्तिलाई जातका आधारमा भेदभाव, छुवाछूत गर्नु दण्डनीय अपराध मानिन्छ । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ अनुसार यस्तो अपराध गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
दलितले आयोजना गरेको भोजमा सहभागी भएको भन्दै सामाजिक वहिष्कार गर्नेलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही हुनुपर्ने दलित तथा मानवअधिकारकर्मीले माग गरेका छन् ।













