
काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै धर्ना दिन गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।
जिल्ला अदालत, काठमाडौं परिसरमा पुगेका उपप्राध्यापक चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चलाउनेलाई आक्रमण गर्नेविरुद्ध हालेको मुद्दा फिर्ता लिएपछि चलाउनेले मुद्धा फिर्ता नलिन भन्दै धर्ना दिन गएका थिए ।
अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा दर्ता भएको थियो । जुन विचाराधीन अवस्थामा छ । भोलि ५ गते पेशी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो । मुद्धा फिर्ताविरुद्ध चलाउने धर्ना दिन अदालत पुगेका थिए।









