धरौटी बुझाएर रिहापछि दुर्गा प्रसाईंले भनेः म बदलिनेवाला छैन्


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो स्वभाव नबदलिने बताएका छन् । आज उच्च अदालत पाटनको आदेशअनुसार २८ लाख धरौटी बुझाएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् ।

सामाजिकसंजाल फेसबुकमा स्टाटास लेख्दै प्रसाईंले भनेका छन्, “म मेरो लागी हैन देशकै लागी थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी मन बचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन ।”

उनले स्टाटसमा जिल्ला अदालतको आदेशलाई सम्मान गर्दै आफु कारागार गएको र आज उच्च अदालत पाटनको आदेशबाट रिहाई भएर घर फर्किरहेको समेत बताएका छन् । प्रसाईंले न्याय मरेको छैन भन्ने आभाष भएको समेत बताएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक समेत रहेका प्रसाईंलाई चैत्र १५ गते तिनकुनेमा भएको राजावादीको हिंसातम्क आन्दोलनको नाइके भन्दै पक्राउ गरेर मुद्धा चलाएको थियो । उक्त घटनासंगै प्रसाईंमाथि बैंकिङ कसुरमा पनि मुद्धा चलाइएको थियो ।

दुबै मुद्धा उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख र न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई तिनकुने घटनामा ३ लाख गरी २८ लाख धरौटीमा छाड्ने आदेश गरेका छन् । न्यायाधीशहरुले आफ्नो आदेशमा प्रसाईं क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै धरौटीमा छाड्ने आदेश दिएका छन् ।

धरौटी बुझाइसकेको भएपनि ढिला गरेर केहिबेर अघि मात्रै डिल्लीबजार कारागारबाट प्रसाईं रिहा भएर घरतर्फ फर्किएका छन् । उनको स्वागतका लागि कारागार बाहिर उनका सयौं सर्मथकहरु भेला भएका थिए ।

उनको स्टाटस

हार्दिक आभार !
सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु । जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनी म अदालतको आादेशलाई शिरोपर गर्दै खुशी साथ नै कारागार गएको थिएँ, आज उच्च अदालतको आदेशबाट रिहाई हुँदा पनी देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु । न्याय मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमान सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागी सारा नेपाल मेरो घर हो,कारागार पनी मलाई घर भन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।
म मेरो लागी हैन देशकै लागी थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी मन बचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन । फेरीपनी हृदयको अन्तस्करण बाट सबैमा धेरै आभार । धन्यवाद !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार