
काठमाडौं । क्रान्तिकारी नेता दामन पाख्रिनको जीवनमा आधारित पुस्तक विमोचन गरिएको छ । शनिबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरि नेता पाख्रिनको जीवनीमा आधारित पुस्तक “खनियाबास विद्रोहका नायक दामन पाख्रिन” विमोचन गरिएको हो ।
नेपाली काँग्रेसका सभापति गगन थापाको प्रमुख आतिथ्य, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनिया, कानुन मन्त्री शिवराज अधिकारी लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
दामन पाख्रिन स्मृती प्रतिष्ठानद्धारा प्रकाशन गरिएको पुस्तकलाई गोपाल फ्युबा तामाङले लेखेका हुन् । धादिङमा जन्मिएका काँग्रेस नेता दामन पाख्रिन राणा शासनको अनत्य र पञ्चायत सुरुवातसंगै उदाएका विद्रोही नेता थिए ।
पञ्चायतको विरोध गर्दै गर्दा जेलनेल भोगेका उनले सुरुमा कम्युनिष्ट नेता निर्मला लामाबाट प्रभावित हुँदै राजनीति सुरु गरेका थिए । स्थानियस्तरमा तात्कालिन शासकहरुले तामाङ समुदायमाथि चर्को कर लिनका साथै ज्यादती गरेपछि उनले त्यसको शसक्त प्रतिवाद गर्दा उनि जेल परेका थिए ।
स्थानिय जनता र तामाङ समुदायको हकअधिकारका लागि लड्दै उनि नेपाली काँग्रेसमा आवद्ध भइ एउटा विद्रोही नेताका रुपमा स्थापित भएका थिए ।
स्थानिय सरकारका प्रधानपञ्च हुँदै सांसदसम्म बनेका पाख्रिनलाई काँग्रेसमा धेरैले आर्दशका रुपमा लिन्छन् ।

पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले विद्रोही नेता पाख्रिन आफ्नो आर्दश भएको बताए । अन्याय र अत्याचारकाविरुद्ध लड्ने पाख्रिनको स्वभावले आफु पनि विधार्थी राजनीतिमा आर्कषित भएको थापाले बताए ।
सभापति थापाले विद्रोही नेता पाख्रिनको जीवनीबाट नेपाली जनता र काँग्रेसका नेता, कार्यकर्ताहरुले धेरै कुराहरु अनुशरण गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले नेता पाख्रिन अन्यायकोविरुद्धमा न्यायको पक्षमा, गरिब निमुखालाई साहुले अनुचित चर्को ब्याज लिएर दुख दिएको विरुद्धमा, खलनायकहरुको बीचमा नायक बनेर जनताको पक्षमा उभिएर विद्रोह गर्ने नेता भएको बताए ।
नेता पाख्रिनबाट आफुहरुले पनि जनताको पक्षमा, अन्यायको विरुद्धमा काम गर्ने प्रेरणा पाएको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा संवोधन गर्दै बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारीले विद्रोही नेता पाख्रिन जस्ता नेताहरु नेपालमा खाँचो रहेको बताए ।
पाख्रिनसंगै संगत गरेका मन्त्री अधिकारीले स्मरण गर्दै भने, ‘दामन पाख्रिन एक महामानव हुनुहुन्थ्यो, महामानवहरु कहिल्यै परलोक हुँदैन्, यस्तो ब्यक्तित्व सधै जिवित रहन्छन्, हामी सधै सम्झिरहने छौं ।’
साहुले चर्को ब्याज लिएपछि त्यसको विरुद्धमा विद्रोह गरेर पाख्रिनले राजनीति सुरु गरेको उनले स्मरण गरे ।

त्यस्तै कार्यक्रममा काँग्रेस नेता रमेस धमलाले विद्रोही नेता पाख्रिनबाट काँग्रेसका नयाँ पुराना सबै नेता कार्यकर्ताहरुले सिक्नु पर्ने बताए ।
पाख्रिनको सादगी जिवनको चर्चा गर्दै नेता धमलाले राजनीतिलाई जनताको पुर्ण सेवामा सर्मपित गर्नुपर्ने बताए । नेता पाख्रिनको सम्झानामा नेपाली काँग्रेस धादिङले विभिन्न कार्यक्रमहरु गर्दै आएको समेत धमलाले बताए ।
कार्यक्रममा बोल्दै राप्रपा नेता बुद्धिमान तामाङले काँग्रेस नेता पाख्रिन एक असल नेता भएको बताए । पाख्रिनसंग पटक पटक चुनाव लडेको स्मरण गर्दै नेता तामाङले उनको राजनीतिको चर्चा गरे ।
कार्यक्रममा बोल्दै विद्रोही नेता पाख्रिनका छोरा काँग्रेस नेता दिलमान पाख्रिनले बुवाको सम्झनामा आफुहरुले थुर्पै परोपकारीका कामहरु गरिरहेको बताए ।
उनले बुवाको सम्झनामा स्थापना गरिएको पाख्रिन स्मृति प्रतिष्ठानले धादिङ लगायतका क्षेत्रमा थुर्पै सामाजिक कामहरु गर्दै आएको जानकारी दिए । प्रतिष्ठानबाट जिल्लाका विभिन्न ठाउँमा विधालय भवन निर्माण, खानेपानी लगायत भुकम्पका बेला राहातका कार्यक्रमहरु पनि गरिएको उनले बताए ।
पुस्तक विमोचन कार्यक्रममा काँग्रेसबाट निर्वाचित स्थानिय तहका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, कलाकार लगायत सयौंको उपस्थिती थियो ।










