
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणालाई इन्टरपोलले पक्राउ नगर्ने जवाफ दिएको छ ।
देउवा दम्पतीविरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गर्नुपर्ने भएकाले विदेशमा रहेका उनिहरुलाई पक्रन इन्टरपोलको सहयोग मागेको थियो । तर इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्नकै लागि अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको हो ।
देउवा दम्पतीबिरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो । देउवा दम्पती हाल हङकङमा रहेको बताइन्छ ।
जेन–जी आन्दोलनका क्रममा देउवा दम्पतीलाई उनकै निवासमा आक्रमणमा गर्दा घाइते उनिहरु उपचारका लागि सुरुमा सिंगापुर गएका थिए । त्यहाँबाट हङकङ गएको बताइन्छ ।
विदेशमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले सहयोग नगर्ने भएपछि अब बालेन सरकारले के गर्ला भन्ने प्रश्न उठेको छ ।













