२०७६ साललाई फर्केर हेर्दाः रवि लामिछाने पक्राउदेखि महराकाण्ड, ७० करोड कमिसनलगायत चर्चित १२ घटना

काठमाडौं । नयांबर्ष आउनै लाग्दा यो बर्ष के के भए भनेर हरेकले हरेक क्षेत्रलाई फर्केर हेर्ने गर्दछन्, सम्झिने गर्दछन् । चाहे त्यो ब्यक्तिगत वा राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरका घटनाक्रमहरु हुन तिनिहरुलाई फर्केर हेर्ने गरिन्छ । यहिक्रममा २०७६ साललाई फर्केर हेर्दा नेपालमा विशेषगरी राष्ट्रियस्तरमा कुन कुन घटनाहरु चर्चित रहे भनेर हामी त्यस्ता १२ वटा घटनाहरुलाई सम्झने प्रयास गर्दैछौं ।

घटना न.१– पूर्वसभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारमा पक्राउ


यो बर्ष सबैभन्दा बढि चर्चामा रहन पुगेको घटना थियो पूर्वसभामुख एवम् सांसद कृष्णबहादुर महराको यौन दुव्र्यवहारको घटना । असोज १२ गते संसद् सचिवालयकी एक महिला कर्मचारीलाई महराले बलात्कारको प्रयास गरेको आरोप लागेको थियो । उक्त आरोपपछि छानविनमा सहयोग पुर्याउन भन्दै महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिए । यस घटनाले राष्ट्रिय अन्र्तराष्ट्रियस्तरमा चर्चा पाएपछि छानविनका लागि प्रहरीले असोज १९ गते महरालाई उनकै निवासबाट पक्राउ गरेको थियो ।

पक्राउपछि ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजारस्थित कारागार बसेका महरा अन्तत निर्दोष सावित हुँदै रिहा भएका थिए ।
प्रहरीको लामो अनुसंन्धान पश्चात काठमाडौं जिल्ला अदालतले महरालाई फागुन ५ गते सफाइ दिएपछि उनि त्यहि दिन डिल्लीबजारस्थित कारागारबाट रिहा भएका थिए ।

महराले आफुमाथि बलात्कारको प्रयास गरेको बताउने ति महिलाले नै महरा निर्दोष भन्दै अदालतमा पटक पटक इनकारी वयान दिएकी थिइन । आफु मानसिक रोगी भएकाले औषधी खाइरहेको र महरा आफना् अभिभावक जस्तै भएकाले उनिबाट यस्तो घृणित कार्य कल्पना समेत गर्न नसकिने भन्दै उनले मिडिया सामु बताएकी थिइन । ति महिलाले महरलाई फसाउनका लागि ठुलो षड्यन्त्र गरिएको बताउँदै आएकी थिइन । यस बिषयमा महरा स्वयमले पनि आफुमाथि गम्भिर षड्यन्त्र भएको बताउँदै आएका छन् । यद्यपी ति महिलासंगको सम्बन्ध र असोज १२ गते भएको भनिएको घटनाका बिषयमा अहिलेसम्म महराले मिडियासामु केहि बताएका छैनन् र समय आए यसबारे सबै कुरा प्रष्टहुने उनोको भनाई छ ।

घटना न.२– चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण


२०७६ सालमा राजनीतिक वृतमा र त्यसका पनि सरकारमा काण्डैकाण्ड भएपनि देशका लागि केहि सकारात्मक कुराहरु अवश्य भएका छन् ।
विश्वशक्ती राष्ट्रको दौडमा रहेको छिमेकी देश चीनबाट २३ बर्षपछि राष्ट्रपति सी चिनपिङले नेपाल भ्रमण गरे । उनको नेपाल भ्रमण निकै सकारात्मक रह्यो ।

यस राजकीय भ्रमणले विश्वको ध्यान नेपालतर्फ तान्यो र यसले नेपालको राजनीति, कम्युनिष्ट सरकारको एक उपलव्धी पनि ठानियो । चिनियाँ राष्टपतिको नेपाल भ्रमणले आर्थिक, सांस्कृतिक विकास र द्विपक्षीय सम्बन्ध विस्तारमा ठुलो योगदान पनि पुग्यो । नेपालको अर्को ठुलो छिमेकी देश भारतबाट पटक पटक राष्ट्रप्रमुखको नेपाल भ्रमण भएको भएपनि करिब दुई दशकदेखि चीनबाट राष्ट्रप्रमुखको नेपाल भ्रमण भएको थिएन ।

घटना न. ३– काँग्रेस सांसद अफताव आलम पक्राउ


२०७६ सालमा केहि पुराना आपराधिक घटनाहरु उल्टिए र आरोपीत पक्राउ परे । कानूनीराज्यका लागि यो पनि सकारात्मक घटना नै थियो यो बर्ष । नेपाली काँग्रेसका रौतहट क्षेत्र न. दुईका सांसद अफताव आलमलाई प्रहरीले असोज २६ गते हत्या आरोपमा पक्राउ गर्यो ।
२०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो रात चैत्र २७ गते बम बिस्फोट गराई त्यसमा घाइते भएकालाई जिउँदै ईटा भट्टामा जलाएर हत्या गरेको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त घटनापछि पीडितको उजुरीका आधारमा अदालतले पक्राउ गर्न भनेपनि राजनीतिका आडमा आलम खुलायम घुमिरहेका थिए । घटनापछि उनि २०७४ सालको निर्वाचनमा सांसद पनि भए । तर, समय उनको पक्षमा रहेन र अन्तत प्रहरीको खोरमा पुगे ।

घटना न. ४– पूर्वमन्त्री गोकुल बास्कोटाको ७० करोेड कमिसन प्रकरण


२०७६ सालमा पूर्व संचारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनकाण्डले पनि खुब चर्चा पायो । जुन अझै टुंगिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका विश्वास पात्र भएर पनि होला यो काण्ड चर्चामा छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि उनले फागन ८ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यो घटना किन पनि चर्चामा रह्यो भने प्रधानमन्त्री ओलीले पटक पटक ‘भ्रष्टाचारीको मुख समेत हेर्दिन, कडा कारवाही गर्छु’ भनिरहेका बेला उनकै विश्वास पात्र, सरकारका प्रवक्ता बास्कोटा नै ७० करोड कमिसन खेलमा रहेको कुरा बाहिर आयो । र प्रधानमन्त्रीले यो कुरा बाहिर आएपछि पनि बास्कोटाको बचाउ गरेका समाचारहरु सुनिए । स्वयम बास्कोटाले भने आफु अनैतिक र भ्रष्ट नभएको दावी गर्दै आएका छन् ।

घटना न. ५– मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) विवादमा
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) विवाद पनि २०७६ सालको चर्चित घटना बन्न पुग्यो । यो पुरानो अमेरिकी प्रस्ताव भएपनि यसलाई अहिले स्विकार्ने र संसदबाट पास गर्ने बिषयमा भने सरकार र सत्तारुढ नेकपा, काँग्रेस लगायत बुद्धिजिवी बर्गमा समेत चर्को विवाद र वहश भयो ।

जुन अहिलेसम्म कायमै छ । यसबारेको विवाद साम्य गर्न सत्तारुढ नेकपाले सुझाव कार्यदल नै गठन गर्यो । कार्यदलले एमसीसी जस्ताको त्यस्तै पास नर्गन सरकारलाई सुझाव दिएपछि यो बिषय झन पेचिलो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पास गर्ने हतारमा रहेपनि नेकपाभित्रै यस बिषयलाई लिएरु प्रष्ट दुईधार भएपछि समसइा खडा भएको छ । अधिकांस नेता र नागरिकस्तरबाट राष्ट्रियता र राष्ट्रको पक्षमा रहेर एमसीसी संशोधन गरी पास गर्नुपर्ने बताइरहेका छन् ।

घटना न. ६ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भव्य रूपमा सम्पन्न


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा भव्यरुपमा सम्पन्न हुनु पनि २०७६ सालको एउटा अर्को शुखद समाचार हो । विभिन्न अपठ्यारोकाबीच छोटो समयमा तयारी गरी भव्य र एतिहासिक रुपले साग सम्पन्न भएको थियो ।

मङ्सिरमा १५ गते भव्य रुपमा उद्घाटन भएको सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । जसले गर्दा दक्षिण एसियामा नेपालको खेलकुदको उच्च प्रसंशा समेत भयो । सरकारले यसलाई आफ्नो कार्यकालको एक सफल काम पनि ठानेको छ ।

घटना न. ७– प्रख्यात सिद्धबाबा बलात्कारको आरोपमा पक्राउ

२०७६ सालमा बलात्कारकाण्डमा नाम चलेकै ब्यक्तिहरु मुछिए । कसैले अदालतबाट निर्दोष हुँदै सफाइ पाए भने कोहि खोरमै छन् । धार्मिक गतिविधिबाट नाम कमाएका सुनसरीका सिद्धबाबा भनिने कृष्णदास गिरी यसबर्ष बलात्कारको आरोपमा पक्राउ परे ।
सुनसरीको चतरामा आश्रम बनाएर बसेका सिद्धबाबाले आफ्नै अनुयायी एक महिलालाई विभिन्न प्रलोभनमा पारेर कार्तिक ४ गते आश्रममै बलात्कार गरेको आरोपमा उनि मंसिर १३ गते पक्राउ परेका थिए । पक्राउपछि उनले आफ्नो स्वास्थ्यमा समस्या आएको वाहाना बनाएर अस्पताल भर्ना समेत भएका थिए ।

धार्मिक गतिविधिमार्फत राज्यका उच्च ब्यक्तित्वसंग सम्बन्ध बनाएका सिद्धबाबा बिरुद्धको बलात्कारको उजुरी प्रहरीले सुरुमा दर्ता गर्न नमानेको पीडित महिलाले बताएकी थिइन । पक्राउपछि अदालत लगिएका उनलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । तर, पीडित महिलाले आफुमाथि अन्याय भएको भन्दै न्याका लागि उच्च अदालत विराटनगर गएकी थिइन । उच्च अदालत विराटनगरले माघ ९ गते सिद्धबाबालाई थुनामा राखी अनुसंन्धान गर्न आदेश दिउसंगै उनि भारत फरार भएका थिए ।
भारतबाट पछि आफै फर्केर अदालतमा हाजिर भएका उनलाई अदालतको आदेशअनुसार फागुन २० गते सुनसरीको झुम्का कारागार लगिएको हो । उनि अहिले कारागार मै छन् ।

घटना न. ८– यतिलाई कौडीको भाउमा सरकारी जग्गा
सरकारी सम्पत्ती हडपेकोदेखि लिजमा दिएको बिषय पनि २०७६ सालमा चर्चामा रहे । सरकारले गोकर्ण रिसोर्ट यती होल्डिङ कम्पनीलाई कौडीको भाउमा लिजमा दिएको भन्दै सरकारको आलोचना भयो । सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा ब्यक्तिले हडपेको सरकारी जग्गा फिर्ता ल्याएर प्रसंशा पाएपनि अरवौं जग्गा लजका नाममा कडीको भाउमा दिएको कुराले बढि चर्चा पायो ।
गोकर्णलाई दिएको सरकारी जग्गाबारे त संसदमै खरो प्रश्न उठाइयो र सरकारको जवाफ समेत मागियो ।

राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको २७ सय ९२ रोपनी जग्गामा रहेको गोर्कण रिसोर्ट सरकारले ६ वर्षको लिज अवधि बाँकी छँदै सम्झौता अवधि बढाएर २५ वर्षका लागि कौडीको भाउमा लिजमा दिएको भन्दै आलोचना भएको थियो । तर, यसअघि पनि अहिलेको भन्दा झनै सस्तोमा सरकारी जग्गा, सम्पत्ती लिजमा दिदै आएको भएपनि बर्तमान सरकारले राज्यलाई फाइदा नै हुनेगरी लिजमा दिएको जवाफ दिएको थियो ।

घटना न. ९– प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण


नेपालको स्वास्थ्य क्षेत्रका लागि यसबर्ष एउटा निकै प्रशंसायोग्य काम भयो । विशेषगरी नेपालका अस्पताल र चिकित्सकका लागि ज्यादै खुशीको कुरा थियो । जुन खबर थियो प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै गरेको सफल मिर्गौला प्रत्यारोपण । त्रिवि शिक्षण अस्पतालमा फागुन २१ गते प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो ।

१३ बर्षअघि भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण थियो । मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गराइरहेका ओलीलाई चिकित्सकले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सुझाएका थिए ।
सोहि अनुसार उनले आफ्नी भान्जी समिक्षा संर्गौलाको मिर्गौला दानबाट दोस्रो पटक प्रत्यारोपण गरेका हुन । शिक्षण अस्पतालमै यसअघि आठजनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको भएपनि उच्च तहका ब्यक्तिले भने गरेका थिएनन् ।

घटना न.१०– भ्रमण वर्ष २०२०
बहुचर्चित सरकारी योजनमा भिजिट नेपाल २०२० पनि एक थियो । जसको देश तथा विदेशमा भव्य तयारी गरिएको थियो । पर्यटन मन्त्रालय र नेपाल सरकारको निकै महत्वाकाँक्षी योजनाका रुपमा ल्यायएको भिजिट नेपाल २०२० अन्तत स्थगित हुन पुग्यो । अंग्रेजी बर्षको अवसरका त्रिपुरेस्वरस्थित रंगशालामा सरकारले भिजिट नेपालको भव्य शुभारम्भ गरेको थियो ।

देश तथा विदेशका मन्त्रीहरुको उपस्थितीमा राष्ट्रपति बिद्यादेवी भण्डारीले भिजिट नेपालको भव्य शुभारम्भ समारोहको उद्घाटन गरेकी थिइन । २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० को शुभारम्भ गरिएको थियो । तर, कोरोना भाइरसका कारण सरकारले स्थगित गरेको छ ।

घटना न. ११– संचारकर्मी रवि लामिछाने पक्राउ र रिहा


चर्चित संचारकर्मी रवि लामिछाने पनि यो बर्ष निकै चर्चामा रहे । न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासंग कार्यक्रमबाट त उनि चर्चित थिए नै । तर, रविका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबाट उनि बढि चर्चामा रहेका थिए । पुडासैनीले आफुलाई आत्महत्या गर्न रविले नै बाध्य पारेको भन्ने उनको भिडियो रेर्कडका आधारमा प्रहरीले रविलाई उनको कार्यकक्षबाट साउन ३० गते पक्राउ गरेको थियो । रवि लगायत यस घटनासंग नाम जोडिएका एक युवतीसहित रविका सहकर्मी पनि पक्राउ परेका थिए ।

चितवनको एक होटलमा साउन २० गते आत्महत्या गरेको अवस्थामा पुडासैनी फेला परेका थिए । रविले हात्महत्या गर्न बाध्य पारेको भन्ने भिडियो रेर्कड प्रहरीले पुडासैनीको मोवाइलमा भेटाएको थियो । सोहि भिडियोका आधारमा प्रहरीले रविमाथि आत्महत्या दुरुस्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दर्ता गरेको थियो । त्यसपछि रविका सर्मथकहरुले चितवन लगायत देशैभरी प्रर्दशन गरेका थिए । रवि ११ दिन प्रहरी थुनामा बसी भदौं ९ गते ५ लाख धरौटी तिरेर रिहा भएका थिए । त्यसपछि माघ ५ गते रविले अदालतबाट सफाई पाएका थिए ।

घटना न.१२– कोरना माहामारी
यसबर्षको अन्तमा विश्वसंगै नेपाल पनि कोरोना भाइरसको लडाईमा होमिएको छ । कोरोना भाइरस पनि यसबर्षको अन्ततीर नेपालमा देखा परेकाले यो पनि चर्चाको बिषयको बनेको छ । विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिले देश लकडाउन छ । आजसम्मको अपडेट अनुसार नेपालमा १२ जना कोरोना संक्रमित देखिएका छन् । सरकारका अनुसार अहिलेसम्म कोरोनाबाट नेपालमा कसैको पनि मृत्यु भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार