काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको खतरा नेपालमा पनि उत्तिकै छ । हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ भने मृतकको संख्या पनि २० नाघेको छ ।
छिमेकी देश भारत, चीन लयागत विश्वमै बढी प्रभावित देशहरु अमेरीका, इटली, ब्राजिल, रसिया, बेलायत, स्पेनलाई हेर्ने हो भने नेपाल उच्च पनि जोखिममै छ । नेपालमा पछिल्लो केही सातामा बढेको संक्रमण र मृत्यु दरले जोखिम झनै बढेर गएको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनको अनुरोधलाई स्वीकार गर्दै नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरेको थियो । लामो समयसम्म अतिआवश्यक बाहेक अन्य सबै सेवा बन्द गर्दा काम गरेर खाने नागरिक र देशमा आर्थिक संकट उत्पन्न हुने चिन्ताले असार १ गतेबाट लकडाउन केही खुकुलो पारिएको छ ।
असार १ गतेबाट नीजि सवारी साधन जोर विजोर प्राणाली र सरकारी तथा गैर सरकारी कार्यालयहरु दुई सिप्टमा संचालन भए । जिल्ला भित्रै एक ठाउँबाट अर्को ठाउँमा जान पाइने भयो । स्थानीय प्रशासनको पासले एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने पनि भयो।
यसरी लकडाउन केही खुकुलो भएसँगै मान्छेको आवत जावत सहज हुनुका साथै काम गर्ने ठाउँ, खाजा, किराना पसल, सपिङ मल पनि खुल्ला गरिए । मान्छेलाई हिड्डुल गर्न पनि केही सहज भयो ।
सरकारले लकडाउन केही खुकुलो पारेपछि नागरिकलाई मास्क अनिवार्य, सेनिटाइजरको प्रयोग र भौतिक दुरि कायम गर्नु पर्ने निर्देशन दिइएको थियो । तर, सरकारको यो निर्देशन खासै पालना गरिएको पाइएन ।
यसरी सार्वजनिक ठाउँमा भिडभाड, सडकमा हुने जामले कोरोना संक्रमण बढ्ने खतरा रहेको विज्ञहरुले चेतावनी दिएका छन् । पछिल्लो एक साता यता कोरोना संक्रमितको संख्या हेर्दा तीन देखि ५ सय बढी नै संक्रमित पाइएका छन् । यसरी दैनिक सयौंको संख्यामा संक्रमित बढ्ने संख्या नघटेकाले खुकुलो लकडाउनले झनै खतरा बढाउने आशंका विज्ञको छ ।
स्वास्थ्य विज्ञहरु भन्छन्, ‘संक्रमितको संख्या यसरी नै बढ्ने हो भने फेरि लकडाउन गर्नु पर्ने अवस्था आउन सक्छ ।’ त्यस्तै स्वास्थ्य मन्त्रालयले असार मसान्तसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्न सक्ने अनुमान गरेको छ ।
ठुलो संख्यामा भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा छन् । उनीहरुको स्वास्थ्य परीक्षण नहुँदै आरडीटी गरेर घर पठाइएको छ । अहिलेसम्म आरडीटी नेगेटिभ देखिएर घर पठाएका धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएर फेरि अस्पताल ल्याइएका छन् ।
यस्तो लापरवाहीले गर्दा समुदाय मात्रै नभएर परिवार पनि उच्च जोखिममा छ । घरमा दिर्घरोगि भएका बृद्धबृद्धा हुन्छन्, उनीहरुमा संक्रमण देखियो भने ठिक हुने सम्भावना एकदमै न्युन रहेको स्वास्थ्य विज्ञको भनाई छ । यसले गर्दा मृत्यु दरपनि बढ्ने र जोखिम उच्च रहने संम्भावना धेरै छ ।
त्यसैले अहिले नै लकडाउन खुकुलो पार्ने भन्दा पनि क्वारेन्टिनमा बसेका व्यक्तिहरुको पीसीआर परीक्षण गरेर व्यवस्थापनमा ध्यान दिनसक्यो भने जोखिम केही कम हुनसक्छ ।
नत्र भने संक्रमित मात्रै होइन मृतकको संख्या बढेर अमेरिका, इटलीको जस्तो भयाभह अवस्था नआउला भन्न सकिन्न । सरकारले समयमै लकडाउनबारे निर्णय गरेर, परीक्षण बढाउने र क्वारेन्टिनको व्यवास्थापनतीर पनि ध्यान दिन आवश्यक देखिन्छ ।
संक्रमितको संख्या घट्दै गएपछि कोरोनाको उद्दगम थलो चीनमा लकडाउन खुकुलो पारिएको थियो । लकडाउन खोलिएको करिब १ महिना पछि चीनमा एकैदिन ४० बढी संक्रमित फेला परेका थिए । यसरी संक्रमित भेटिएको बेइजिङ शहरका ११ स्थान लकडाउन घोषणा गरिएका छन् ।
त्यस्तै ब्राजिल, बेलायत, इटली लगाएका देशमा पनि लकडाउन खुकुलो बनाएसँगै संक्रमित बढेपछि फेरि लकडाउन घोषणा गरिएको थियो । विश्व स्वास्थ्य संगठनले पनि कोरोना रोकथामको एउटै विकल्प लकडाउनलाई मान्यता दिएको छ ।