प्रेस लेखिएको मोटरसाइकलबाट प्रहरीले हतियार बरामद


सर्लाही । कोरोना फैलिन नदिनका लागि घोषणा गरिएको लकडाउनमा अतिआवश्यक सेवा, प्रेस, प्रहरी र डाक्टरहरुलाई हिड्न पाइने व्यवस्था छ । तर, तिनै सेवालाई कतिपयले दुरुपयोग गरिरहेका छन् ।

आइतबार मात्रै प्रहरीले सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेका व्यक्तिलाई शंका लागेर चेकजाँच गर्दा हतियार बरामद गरिएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकलमा सवार दुई जनालाई प्रकाउ समेत गरेको छ । प्रकाउ पर्नेमा बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह रहेका छन् ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको बताइएको छ ।

उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट टोलीले खटाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार