
सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका सामाग्रीहरुसामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिएको छ।
दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहितका फोटो भिडियोहरु यूट्युब फेसबुक, टिकटक लगायतका सामाजिक संजालहरुमा राखिएका पाएकाले त्यसलाई तत्काल हटाउन अदालतले आदेश दिएको हो ।
साथै यस्ता सामग्री राख्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार साइटहरु बन्द गराउन न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ।
‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसारित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु, जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु, आदेशमा भनिएको छ ।
साथै युट्युवलगाएतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरु हटाउन संघीय सरकार मार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ।
न्यायाधीश डा। आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरु प्रसारण प्रकाशन गर्नेविरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन पनि भनिएको छ।
केहि दिनअघि सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदि किनारमा बसोबास गर्दैै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा पुर्याएर यौन दुव्र्यवहार गरिएको घटना बाहिरिएको थियो ।
राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । उनीहरु अहिले हिरासतमा रहेको प्रहरीले जनाएको छ । पीडित युवतीहरु आफ्नो बास्थानमा सुरक्षित रहेको राउटे उत्थान प्रतिष्ठान नेपालकी सत्यदेवी खड्काले अनमोलपोष्टलाई जानकारी दिइन् ।









